ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

घर बनाउने गोथिक शैली

२०७८ माघ, १४  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कस्तो डिजाइनको घर बनाउने भन्ने विषय आर्किटेक्ट डिजाइनरसँगको छलफलपछि प्रक्रिया अगाडि बढ्छ । विभिन्न डिजाइन, शैली र मोडलबीच आफूलाई मन पर्ने शैली छनोटपछि आर्किटेक्ट इन्जिनियरले डिजाइन तयार गर्छन् । यिनै विभिन्न शैलीमध्ये एक हो, युरोपियन वास्तुकला शैली गोथिक ।  

नेपालमा पनि गोथिक शैलीका घर बन्ने गरेको पाइन्छ । कतिपय राणाकालीन दरबार र हालै बनेका नयाँ भवनमा समेत यस्तो शैली प्रयोग भएको देख्न सकिन्छ ।

शैलीगत विशेषता
गोथिक वास्तुकला शैलीको प्रमुख विशेषता भनेको पोइन्टेड वा ओजाइभल आर्क हो । यसमा घरको बनोट तथा झ्यालमा चुच्चो परेको देखाइन्छ । गोथिक शैलीको वास्तुकलालाई रोमानेस्क वास्तुकलाले प्रभाव पारेको देखिन्छ । यसमा प्रकाशको अत्यधिक प्रयोग गरिएको हुन्छ । भल्ट र बट्रेसमा सुधार गरेर अग्ला भवन र फराकिला झ्याल प्रयोग गरिएको हुन्छ । यो शैली विशेषगरी चर्च, क्याथेड्रलमा प्रयोग भएको पाइन्छ । यो फराकिला झ्यालको प्रयोगले भवनलाई अग्लो देखाउन सहयोग पुर्‍याएको हुन्छ ।

यसमा डर, त्रास पैदा गराउने, भयानक रूप, रहस्यमय भावना जगाउने खाले आकृति प्रयोग भएको पाइन्छ । नेपालमा यस्तो प्रकारको शैली केही धार्मिक मठमन्दिरमा पनि पाइन्छ ।

संरचना निर्माणका तत्व
गोथिक शैलीका भवनको विभिन्न भाग निर्माणमा आफ्नो छुट्टै शैली प्रयोग गरेको देखिन्छ । जस्तो, झ्याल, आर्क, रिब भल्ट, फ्लाइङ बट्रे्स, ट्रेसरी, क्लोम आदिमा आकर्षक शैलीको प्रयोग गरेको पाइन्छ । यो शैली प्रयोग गरेर भवनमा नवीनता थप्नमा सहयोगी भूमिका खेल्न सक्छ ।

पोइन्टेड आर्क भन्नाले दुई वटा तिखा आर्क एकापसमा भेट्नु हो । यो शैली पहिले नै भारतीय र इस्लामिक वास्तुकलामा झ्याल सजाउन प्रयोग गरेको पाइन्छ । रिब भल्टको प्रयोग ठूलो क्षेत्र ढाक्नका लागि गरिन्छ, जुन क्रस गरिएको आर्कबाट बनेको हुन्छ । यसको मुख्य काम भवनको भार वा लोडलाई तल र बाहिरसम्म पुर्‍याउने एवं यसको प्रयोगले घरको तौलमा कमी ल्याउन सहयोगी भूमिका खेल्छ । समय र स्थान विशेषअनुसार रिब भल्टको प्रयोग धेरै तरिकाले गरेको पाइन्छ । रिब भल्टको प्रयोग विशेषगरी भवन र पिल्लर (थाम) बलियो बनाउन गरिन्छ । ती पिल्लरमा बुट्टा बनाइन्छ । फ्लाइङ बट्रेसको प्रयोग भवनको वाललाई बाहिरबाट टेको दिन प्रयोग गरिन्छ, जसले वालको ढुंगा र छानालाई बलियो बनाउन सहयोगी भूमिका खेल्छ । टावर, स्पाइर र फ्लेट्च प्रयोग भवनलाई सहरको सबभन्दा अग्लो र सबैले देख्न सक्ने बनाउनु हो । स्पाइरको प्रमुख कार्य टावरलाई अग्लो बनाउनु हो । ट्रेसरीले झ्याल (स्क्रिन, प्यानल र भल्ट) ढुंगाको बार र मोल्डिङ रिबद्वारा विभिन्न अनुपातमा विभाजित हुन्छन् । पोइन्टेड आर्कमा अग्लो र साँघुरो झ्यालको प्रयोग गर्ने चलन छ, जुन ल्यान्सेन्टको नामले परिचित छ ।  

मूर्तिकला पनि यस वास्तुकलाको मुख्य आकर्षणको केन्द्र मानिन्छ । चर्च र क्याथेड्रलको बाहिरी भागमा विभिन्न धार्मिक झल्को दिने आकृति बनाइएको हुन्छ । मूर्तिकला रोमानेस्क परम्पराबाट प्रभावित भएर यसको सुरुआत भएको हो । यसमा प्रयोग भएका प्रमुख मूर्तिकलामा पोर्टल र टिम्पानम, गोरोटस्क र लाविरिन्थ आदि छन् ।

झ्यालमा आकर्षक डेकोरेसन अर्को प्रमुख विशेषताअन्तर्गत पर्छ । झ्याल आकर्षक ग्लास र लाइटले सजाइएको हुन्छ । भवनको भित्री भाग सुन्दर बनाउन विभिन्न डिजाइन प्रयोग गरिएको हुन्छ । विभिन्न आकृति निर्माणले झ्याललाई सुन्दर बनाइएको हुन्छ । यसको आकर्षक नमुनाको रूपमा रोज झ्याललाई लिन सकिन्छ । सजावटका लागि अत्यधिक खर्च चर्च र क्याथेड्रलमा गरिएको हुन्छ । यसको नमुनाको रूपमा सेन्ट चापेलको झ्याललाई लिन सकिन्छ ।

गोथिक शैलीको भवन निर्माणको प्रमुख के विशेषतामा त्यस्तै शैली नबनाए पनि त्यसको केही भागमा त्यो शैलीको प्रयोग गर्न सकिन्छ । जस्तो, झ्याल ठूलो साइजमा निर्माण गर्न र त्यसमा आकर्षक सजावट प्रयोग गर्न सकिन्छ ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement