ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

जुन सरकारले बढी बजेट खर्च गर्न सक्छ उसैलाई धेरै बजेट दिन्छौं : अर्थमन्त्री शर्मा

२०७८ माघ, १४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

माघ १४, काठमाडौं। अर्थमन्त्री  जनार्दन शर्माले जुन सरकारले सबभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई नै बढी बजेटको व्यवस्था गर्ने बताएका छन् ।

शुक्रवार संसदको अर्थ समितिको भर्चुअल बैठकमा उनले जनतालाई सबभन्दा बढी सेवा दिने र सबभन्दा बढी खर्च गर्ने सरकारलाई बढी बजेटको व्यवस्था गर्ने बताएका हुन् । 

नीति र कर्मचारीको अभाव, योजनामा दोहोरोपन, विस्तृत अध्ययन विनाका योजना, संघ र प्रदेश बीचको अविश्वास, स्रोत साधनमा अधिकारको कमीलगायतका समस्याका कारण बजेट कार्यान्वयन सन्तोषजनक रूपमा गर्न नसकिएको पनि उनले बताए ।

‘सबभन्दा बढी जसले सेवा दियो त्यही राम्रो सरकार, जसले सबभन्दा बढी खर्च गर्न सक्यो त्यसैको लागि बजेट गर्ने व्यवस्था गर्ने कुरा मैले घोषणा गरेको छु’, उनले भने, ‘यहाँहरूले खर्च गरेर अपुग भएमा थप बजेट हामीले यहाँ बाँडिएको बजेट फिर्ता लिएर भए पनि दिन सक्ने अवस्थामा हुनेछौँ ।’

उनले कोभिड महामारीमा स्थानीय र प्रदेश सरकारले बढी काम गरेको उल्लेख गर्दै तल्लो सरकारले गरेका असल कामको अङ्गिकार गरेर जानुपर्नेमा जोड दिए । त्यस्तै प्रदेश सरकारका मागहरूलाई आगामी दिनमा नीतिगत रूपमा सम्बोधन गर्दै लैजाने विश्वास दिलाए । ‘जे जति अहिले बजेट प्राप्त भएको छ, त्यसमा नै ध्यान दिएर खर्च गर्न अनुरोध छ’, उनले भने, ‘तपाईँहरूले उठाउनुभएका विषय बारे योजना आयोग र राष्ट्र बैंक लगायत सँग बसेर थप छलफल गर्नेछौँ ।’

मन्त्री शर्माले समृद्धिका लागि उत्पादन र पूँजी निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

उनले योजनाको दोहोरोपन हुने गरेको भन्दै त्यसलाई नीति निर्माण गरेरै समाधान गर्नुपर्ने बताए । संघ, प्रदेश र स्थानीय तह (समन्वय र अन्तरसम्बन्ध) ऐन, २०७७ दफा (२२) अन्तर्गत गठित समितिको पहिलो बैठकमा सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीको सहभागिता थियो । 

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement