ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

व्यापारघाटा कम गर्ने गलत उपाय

२०७८ फागुन, २३  
पाठक विचार
NA

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति कम हुँदै गएपछि आयातमा कडाइ गरेको छ । आयातमा केही कमी आएको त छ तर यसबाट सरकारले प्राप्त गर्ने राजस्वमा पनि कमी आएको छ । भन्सारको तथ्यांकअनुसार गत पुस महीनामा ४० अर्ब २७ करोड रुपैयाँ राजीव संकलन भएकामा माघ महीनामा ३६ अर्ब ७ करोड रुपैयाँ मात्रै संकलन भएको छ । नेपाल राष्ट्र बैंकले दुईपटक गरी ४७ ओटा होर्मोनिक (एचएस) कोडबाट आयात हुने वस्तुको आयातमा कडाइ गरेको हो । यस्तो कडाइमा केही वस्तुको आयातमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने भनिएको छ । सीमित वस्तुहरूमा ५० प्रतिशत मार्जिन राखेर एलसी खोल्नुपर्ने भनिएको छ ।

राष्ट्र बैंकले ल्वाङ, चिनीजन्य पदार्थ, मदिरा तथा सुर्तीजन्य वस्तुहरू, परफ्युम र ट्वाइलेट वाटर, सौन्दर्यसम्बन्धी सामग्री, स्याम्पुजन्य, काठ तथा काठबाट बनेका सामग्री, जुत्ता तथा चप्पल, छातालगायत वस्तु, प्वाँख, नक्कली कपाल तथा नक्कली फूल, चिप्स मार्बललगायत वस्तु, सेरामिकका सामान, सिरिन्जलगायत सिसाका सामान, चाँदी, फर्निचरका सामान, तासा तथा मनोरञ्जल स्थलमा खेलाइने सामग्रीको आयातमा कडाइ गरेको थियो । कडाइ गरेपछि यस्ता वस्तुको आयात त घटेको छ । तर, उपभोग घटेको छैन । उपभोक्ताले बढी मूल्य तिर्नु परेको छ । राष्ट्र बैंकले आयातमा कडाइ गर्न खोज्दा जनतालाई महँगी उपहार दिएको छ ।

भन्सार महसुल बढाउनु तथा एलसी खोल्दा बढी धरौटी राख्न लगाउनु भनेको क्षणिक उपाय हो । यस्तो उपायले महँगी बढाउँछ । अहिले यी वस्तुको मूल्य बढ्नुका साथ सहज रूपमा उपलब्ध हुन पनि छाडेको छ ।

आयात प्रतिस्थापन गर्न स्वदेशमै सामान उत्पादन गर्नु सबैभन्दा उत्तम विकल्प हो । यसले रोजगारी सृजना गर्छ । उपभोक्तालाई सस्तो सामान पनि उपलब्ध गराउँछ । खर्च गर्न सक्ने हैसियत भएकाहरूले जति नै महँगो भए पनि विदेशी सामान प्रयोग गर्छन् । यो रोक्न सकिँदैन । सामान आयात रोक्न खोजियो भने चोरबाटोबाट भए पनि सामान आएरै छाड्छ । यसो हुँदा सरकारले राजस्व पनि गुमाउँछ । अतः स्वदेशमै उत्पादन बढाउने हो भने व्यापारघाटा कम गर्न सकिन्छ । यसका लागि प्रोत्साहन र सहुलियत दुवै आवश्यक छ ।

नेपालका व्यावसायिक घरानाहरू उद्योग खोल्नभन्दा सामान आयात गरेर मुनाफा आर्जन गर्न बढी सहज मान्छन् । यसरी नै बढी नाफा आउँछ भने उद्योग खोलेर किन टाउको दुखाउने ? त्यसैले तयारी वस्तुभन्दा कच्चा वस्तु ल्याएर यहाँ कारखाना खोल्नेलाई बढी सुविधा दिनैपर्छ । एसेम्बलिङ उद्योग नै भए पनि हुन्छ । त्यसैले आयात कडाइ गरेर भन्दा उद्योग खोल्न प्रोत्साहित गरेर व्यापारघाटा कम गर्नेतिर लाग्नुपर्छ ।

बलराम शाक्य
बाफल, काठमाडौं ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement