ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

डलरको भाउ हालसम्मकै उच्च अर्थतन्त्रमा देखिँदै छ असर, फर्वार्ड कन्ट्र्याक्ट गर्ने व्यवसायीलाई फाइदा

२०७८ फागुन, २५  
समाचार
Tvs Raider Image Not Found
author avatar बलराम बुढाथोकी

फागुन २५, काठमाडौं । डलरको भाउ लगातार बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि २०७७ वैशाख ५ गते अमेरिकी डलर १ को विक्रीदर १२३ रुपैयाँ २८ पैसा कायम भएकोमा त्यसलाई उछिन्दै २०७८ फागुन २४ गते अमेरिकी डलरको विक्रीदर १२३ रुपैयाँ ४४ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो मूल्य हालसम्मकै उच्च हो । 

नेपालको वैदेशिक व्यापारको ठूलो अंश भारतसँग हुन्छ । नेपालको मुद्रा भारूसँग पेग्ड छ । यसले भारतमा डलरको मूल्य घटबढ हुँदा नेपाली रुपैयाँमा पनि प्रत्यक्ष प्रभाव पर्छ । 

डलरको भाउ बढ्दा निर्यात, पर्यटन आय र रेमिट्यान्स (विप्रेषण)मा वृद्धि हुन्छ । तर, नेपालबाट वस्तु निर्यात न्यून हुने गरेको छ भने कोभिडका कारण पछिल्लो २ वर्षयता नेपालमा पर्यटक न्यून आएका छन् । वैदेशिक रोजगारीमा गएका नेपालीले पनि पछिल्लो समय विप्रेषण कम पठाउन थालेका छन् । यसले विदेशी विनिमय सञ्चितिमा दबाब सृजना हुने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । 

डलरको भाउ बढ्दा सरकारले तिर्ने वैदेशिक ऋणको ब्याज बढेर बजेट घाटा बढ्दै जाने थापाको भनाइ छ । ‘नेपालको परिप्रेक्ष्यमा डलरको भाउ बढ्दा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्छ । राज्यले तिर्ने ऋणको ब्याज पनि बढ्ने हुँदा यसले बजेट घाटा बढाउँछ,’ उनले भने । डलरको भाउ बढ्दा शोधनान्तर घाटा बढ्नुका साथै व्यापारघाटा पनि बढ्छ । डलर जति सस्तोमा पाइयो त्यति विकास निर्माणदेखि आयात गर्ने वस्तु खरीद गर्दा फाइदा हुने थापाको भनाइ छ । 

नेपालले निर्यात गर्ने वस्तुमा प्रयोग गरिने कच्चा पदार्थ पनि विदेशबाट डलरमा नै आयात गर्नुपर्ने बाध्यता छ । यसले विदेशबाट आयातित कच्चा पदार्थ प्रयोग हुने वस्तुहरूको मूल्य बढ्ने निश्चित छ । तर, डलरको भाउ बढ्नेबित्तिकै आयातित वस्तुको मूल्य भने बढी हाल्दैन । 

व्यवसायीले डलरको भाउ बढ्नुअघि नै खरीद गरेका वस्तु अहिले विक्री गर्ने भएकाले मूल्य वृद्धिमा तत्कालै असर नपर्ने उनीहरूको भनाइ छ । 

आयातमा आधारित अर्थतन्त्र भएकाले आयातित वस्तु महँगो हुँदा त्यसले महँगी बढाउने अर्थशास्त्री डिल्लीराज खनालले बताए । उनका अनुसार रूसले गरेको युक्रेनमाथिको आक्रमणले गर्दा डलरको मूल्य अझै बढ्दै जाने सम्भावना बढेको छ । 

अहिलेको डलरको भाउमा वस्तु आयात गरियो भने यसको असर २/३ महीनापछि देखिने अर्थशास्त्रीहरूको भनाइ छ । पछिल्लो समय युक्रेनमाथि रूसले आक्रमण गरेपछि विश्वभरिकै शेयरबजार घटेको छ भने सुन, चाँदी र डलरको भाउ बढ्दै गएको छ । विश्वभरिका व्यापारीहरू सुरक्षित एसेट्सतर्फ लागेका कारण शेयरबजार घटेर सुन, चाँदी र डलरको मूल्य आकाशिँदै गएको हो । 

डलरमा सामान किन्नुपर्ने भएकाले कतिपय व्यवसायीले पहिले नै डलर बढ्ने अनुमान गरेर बैंकसँग फर्वार्ड कन्ट्र्याक्ट गरेका हुन्छन् । यसरी फर्वार्ड कन्ट्र्याक्ट व्यवस्थापन गरेका व्यवसायीहरूलाई डलरको भाउ बढ्दा असर नपर्ने अर्थशास्त्री बताउँछन् । तर, फर्वार्ड व्यवस्थापन नगर्ने व्यवसायीलाई भने डलरको भाउ बढ्दा प्रत्यक्ष प्रभाव पर्छ । अभियान दैनिकको प्रिन्ट संस्करणबाट


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro