ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

१ लाख ५ हजार नाघेको सुनको खरीद मूल्य ९० हजार मात्रै ! 'सुन किन्न सक्दैनौ, सटर बन्द गर्छौ'

२०७८ फागुन, २५  
उपभोक्ता
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। बुधवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुग्यो । यो नेपालको इतिहासमा अहिलेसम्मकै उच्च मूल्य हो । सुनको मूल्य ऐतिहासिक उचाईंमा पुग्दा सुन पसल भने सुनसान देखिएका छन् ।

केही पसलमा २/४ जना ग्राहक देखिएपनि उनीहरू सुन किन्न नभएर आफूसँग भएका सुनका गहना बेच्नको लागि मात्रै सुन पसलमा पुगेका थिए ।

सुनको मूल्य १ लाख ५ हजार पुगेको भन्दै हौसियर सुन पसलमा पुगेका सेवाग्राहीहरू पसलमा पुगेपछि भने जिल्ला पर्ने गरेका छन् । त्यसको कारण हो १ लाख ५ हजार रुपैयाँ पाउनुपर्ने सुनलाई व्यवसायीले ९० हजार दिएर जाउ भन्नु ।

सुन पसलेले विक्री गर्ने मूल्य उपत्यकामा १ लाख ५ हजार रुपैयाँ नै भएपनि उपत्यका बाहिर भने १/२ हजार रुपैयाँ सम्म बढी नै छ । तर किन्ने मूल्य भने ९० हजार रुपपैयाँबाट बार्गेनिङ शुरू गरेर ९९ हजार रुपैयाँ सम्म पुग्ने गरेको सुन बेच्न न्युरोड पुगेका धादिङका बिजय कडेलले बताए ।

'आफ्नो चिनजानको र नाता पर्ने मान्छे छ भने उसले ९९ हजार रुपैयाँ सम्म पनि मूल्य पाएको रहेछ । कुनै नाता सम्बन्ध नभएको सर्वसाधारणहरू सुन बेच्न जाँदा भने ९० हजार रुपैयाँबाट बार्गेनिङ हुन्छ ।' कडेलले आर्थिक अभियानलाई भने, 'सक्नेले ९५ हजार पनि पाएको छ , ९७ हजार पनि पाएको छ । नसक्नेले ९० हजारमै दिएर फर्किने वा सुन नबेचेरै फर्किने दुई ओटा विकल्प मात्रै छ ।'

बुधबार काठमाडौंका सुन पसलहरुमा किन्ने ग्राहक भन्दा बेच्ने ग्राहक नै बढी आउन थालेको सुन व्यवसायीहरूले बताएका छन् । काठमाडौं न्यूरोडका सुन व्यवसायी हरिहर शाक्यले सुन किन्ने ग्राहक घटेको बताए । ‘सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेपछि किन्ने भन्दा बेच्ने ग्राहक बढी आएका छन् ।’ व्यवसायी शाक्यले भने, ‘विक्री त एकदमै कम छ ।’

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय नेपाली बजारमा सुनको विक्री परिमाण घटेको छ । गत फेब्रुअरीमा दैैनिक औषत १५ किलोका दरले सुन विक्री भइरहेकोमा पछिल्लो समय दैनिक २ देखि ३ किलो मात्रै सुन विक्री हुने गरेको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

‘रुस– युक्रेन युद्धका कारणले अधिकांशले सुरक्षत लगानी गर्न खोज्दा सुनको माग बढेको छ ।’ शाक्यले भने, ‘माग बढेसँगै मूल्य अत्याधिक बढेका कारण सुनको विक्री पनि घटेको छ।’ रुस–यूक्रेन युद्ध लम्बिएमा सुनको मूल्य अझै बढ्न सक्ने शाक्यको अनुमान छ ।

२० दिनमा १० हजार रुपैयाँ बढ्यो सुन, सटर बन्द गर्ने मनस्थितीमा व्यवसायी

यसअघिको सर्वाधिक मूल्य गत वर्ष २०७७ साउन २३ गते प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । त्यसपछि निरन्तर घट्दै गएको गत वर्ष फागुन २५ गतेकै दिन प्रतितोला ८५ हजार ६०० रुपैयाँसम्ममा कारोबार भएको थियो । यसरी ठिक १ वर्षको अवधिमा सुनको मूल्य प्रतितोला २१ हजार १०० रुपैयाँ बढेको छ । तर पछिल्लो २० दिनमा मात्रै सुनको मूल्य १० हजार रुपैयाँले बढेको छ ।

सुनको मूल्य बढेको बढ्यै भएपछि व्यवसायीहरू भने सटर बन्द गर्ने मनसायमा पुगेका छन् । कारोबार घटेर तनावमा रहेका व्यवसायीहरू किन्ने भन्दा बेच्ने मान्छे मात्रै आउन थालेपछि सुन किन्न सक्ने अवस्थामा छैनन् ।

कारोबार स्वाट्टै घटेको छ । सुन विक्री नहुँदा व्यवसायीसँग पैसा पनि छैन । त्यसमाथि यसरी बढेको मूल्यमा सुन किनेर व्यवसाय धान्न पनि सकिन्न । एक व्यवसायीले अभियानलाई भने, 'बेच्न आउने ग्राहकको सुन किन्न सक्ने अवस्था नै नरहेपछि सटर बन्द गर्ने मनस्थितीमा पुगिसकेका छौ ।'

महासंघले बजार मूल्य भन्दा ५ प्रतिशत घटाएर सुन किन्ने निर्णय गरेको संघका अध्यक्ष शाक्यले बताए । पुरानो गहनालाई गालेर सुन बनाउँदा घट्ने भएकाले जोखिम व्यवस्थापनका लागि ५ प्रतिशत मूल्य घटाउने आन्तरिक छलफल भएको उनले बताए ।

तर पहिले जर्ति मात्रै कटाएर ग्राहकको सुन किन्ने व्यवसायीहरू यतिबेला भने ज्याला जर्ति बाहेक पनि ५ प्रतिशत थप घटाएर मात्रै सुन किन्ने गरेको सेवाग्राहीको आरोप छ । (प्रतिक्षा कडेल)

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement