ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आजदेखि काठमाडौं उपत्यकामा पुन: मेलम्चीको पानी वितरण शुरु, खानेपानी मन्त्रीले गरे उद्घाटन

२०७९ बैशाख, ११  
समाचार उपभोक्ता
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ११, काठमाडौं । वितरण बन्द भएको झन्डै १ वर्षपछि काठमाडौं उपत्यकावासीले आइतवारदेखि पुन : मेलम्चीको खानेपानी पाउन थालेका छन् ।

बाढीबाट क्षति भएको आयोजनाको मर्मतसम्भार सम्पन्न भएसँगै आजदेखि काठमाडौं उपत्यकाका अधिकांश स्थानमा मेलम्चीको खानेपानी वितरण गरिएको हो ।

आइतवार बिहान खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौंको मीनभवनस्थित पानी ट्यांकीबाट उद्घाटन गरेसँगै उपत्यकावासीले मेलम्चीको पानी पुन : उपयोग गर्न पाएका हुन् । गत जेठदेखि मेलम्चीको खानेपानी वितरण रोकिएको थियो ।

मेलम्ची खानेपानी आयोजनाको क्षतिग्रस्त संरचनाको पुनर्निर्माण पछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) ले आइतवारदेखि घर- घरमा पाईपमार्फत धारामा पानी पठाउने कार्यको शुरुवात गरेको छ । उक्त  कार्यको शुभारम्भ खानेपानी मन्त्री उमाकान्त चौधरीले आइतवार बिहान मिनभवनबाट शुरु गरेका हुन् ।

खानेपानी मन्त्रालयले आयोजनाको मर्मत र सफाइको काम सम्पन्न गरेर गत चैत मसान्तबाट काठमाडौंतर्फ पानी पथान्तरणको काम शुरु गरेको थियो । नयाँ र पुराना धाराबाट मेलम्चीको पानी घर–घरमा पुग्ने थालेको हो ।

अव मीनभवनसहित बानेश्वर, थापाथली, महाँकाल (चावहिल), अनामनगरलगायत स्थानमा पानी वितरण हुनेछ । यसैगरी कीर्तिपुर, खुमलटार, भक्तपुरको बोडे, स्वयम्भू, बालाजु, नयाँ बजार, कालीमाटी, महाराजगञ्ज लगायतका क्षेत्रमा आइतवारदेखि नै पानी वितरण शुरू गरिएको छ ।

सरकारले चैत मसान्तभित्र उपत्यकावासीलाई मेलम्चीको खानेपानी वितरण गर्ने घोषणा गरेको थियो । घोषणाको १० दिनपछि केयूकेएलले पानी वितरण गर्न लागेको हो । निर्माणको दशकौंपछि २०७७ चैत १५ गतेदेखि केयूकेएलले उपत्यकामा मेलम्चीको पानी वितरण शुरू गरेको थियो । त्यसबेला भने परीक्षणको रूपमा खानेपानी ल्याएर वितरण शुरू गरिएको थियो ।

अस्थायी संरचनाबाट काठमाडौंको सुन्दरीजलमा पानी ल्याइसकेको र शुक्रवार नै २७ किलोमिटर लामो सुरुङ भरिएकाले आइतवारदेखि पानी वितरण गर्न सकिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । 


काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर पानी वितरण हुनेछ । यो आयोजनामा रू. ३० अर्ब लगानी भइसकेको छ । यसका अतिरिक्त असार र साउनमा आएको बाढी, पहिरोका कारण ३६ करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement