ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

न्यू बिजनेश एज २१औं वार्षिकोत्सव विशेष : डेरी उद्योगमा लगानी बढ्यो, प्रविधि प्रयोग बढेन

२०७९ बैशाख, २३  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found

नेपालमा करीब ७ दशकअघि डेरी उद्योगको थालनी भएको मानिन्छ । त्यसयता डेरी उद्योगमा लगानी विस्तार ठूलो मात्रामा भएको देखिन्छ । तर, जसरी दिन प्रतिदिन यस क्षेत्रमा लगानी बढेको छ त्यही गतिमा प्रविधिमा फड्को मार्न सकिएको छैन । यसले गर्दा हामीले हाम्रो उत्पादनको खपत बढाउन नसक्नुका साथै विविधीकरण गरी उपभोक्ताको ध्यान आकर्षित गर्न सकेका छैनौं ।

विदेशतिर बढ्दो प्रविधि प्रयोगका कारण उत्पादनमा विविधता हुनुका साथै कच्चा दूधलाई विभिन्न दुग्धजन्य पदार्थमा परिमार्जन गरी बाह्य मुलुकमा निर्यात गरेर अन्य देशका उपभोक्तालाई समेत आफ्नो उत्पादनमा आकर्षित गर्ने र उपभोग बढाउने काम तीव्र गतिमा भइरहेको छ । हामीकहाँ हालसम्म त्यस्तो हुन नसक्नु यस उद्योगका लागि विडम्बना नै मान्नुपर्छ ।

करीब ७० वर्षअघि काभ्रे जिल्लाको नाला, टुसाल भन्ने स्थानमा सरकारी तवरबाट पहिलोपटक डेरी उद्योगको औपचारिक शुरुआत भयो र पछि सरकारले २०२६ सालमा दुग्ध विकास संस्थानको विस्तारित योजना बनाएर यो पेशालाई अझ बढी व्यावसायिक बनाउने काम गर्‍यो । त्यसपछि विस्तारै डेरी उद्योगमा निजीक्षेत्रको प्रवेश भयो । त्यसपछिका दिनमा डेरी क्षेत्रमा तुलनात्मक रूपमा धेरै विकास भइसकेको छ । यद्यपि अझै पनि प्रविधिको हिसाबले हामी निकै पछि परिरहेको आभास हुन्छ ।

ठूला उद्योग तहमा प्रविधिको प्रयोग केही हदसम्म भएको देखिए पनि किसानको तहमा भने यसको पहँुच अझै पनि विस्तार हुन नसकेको देखिन्छ । जसले गर्दा हामीलाई गुणस्तर कायम गर्न थप चुनौती छ ।

 

अहिलेको युगमा प्रविधि प्रयोग गर्न सकिएन भने निकै पछाडि परिन्छ । त्यसैले त हाम्रो देशमा आयातित दुग्ध पदार्थमा दिनदिनै उपभोक्ताको आकर्षण बढ्दो छ । विदेशमा दूध दुहुनेदेखि त्यसलाई प्रशोधन, भण्डारण गर्नेलगायत यसका विभिन्न परिकार बनाउनेसम्मका काममा अत्याधुनिक प्रविधिको प्रयोग हुने भएकाले उत्पादन लागत कम छ । त्यसैले उनीहरूले हामीले भन्दा सस्तो मूल्यमा बजारमा सामान विक्री गर्न सक्छन् । उपभोक्ताले पनि सस्तोमा राम्रो र गुणस्तरीय वस्तु नै खोजिरहेका हुन्छन् ।

ती उत्पादन ब्रान्डेड भएका कारण हामीले प्रतिस्पर्धा गर्न कठिन छ । त्यसैले अब राज्यले यी सबै कुराको अध्ययन गरेर स्वदेशी उद्योगी र किसानलाई राहत हुने खालका नीति र योजना ल्याउनुपर्छ । हाम्रो देशमा लगानीको भने कमी छैन । वातावरण बनाउँदा लगानी आउँछ । अब सरकारले विदेशी लगानी होइन, स्वदेशी लगानीलाई प्रोत्साहन गरी प्रविधिमा सहयोग गर्नुपर्छ ।

अहिलेको अवस्थामा नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन भइरहेको छ । दुग्ध पदार्थमा हामी ८० प्रतिशत आत्मनिर्भर पनि भइसकेका छौं । ६२ लाख लिटर दूध उत्पादन भए पनि ३१ लाख लिटरमात्र बजारमा आउँछ । उत्पादनको ५० प्रतिशत अहिलेसम्म पनि बजार आउन सकेको छैन । बजार, बाटो, बिजुली र अरू अनेकौं समस्याका कारण आउन नसकेको हो । मोटर बाटोको विस्तार गरेर बजारसम्म जोडिन नसकेको ५० प्रतिशत दूधलाई पनि बजारसाग जोड्न सक्ने हो भने घरेलु मागअनुसार हामी पुर्‍याउन सक्ने अवस्थामा हुन्छौं ।

त्यो ५० प्रतिशत दूधलाई एकत्रित गर्न गाउँगाउँमा, सातओटै प्रदेशमा ठूला डेरी उद्योग स्थापना गर्दै कन्भर्जन गर्न सके दूध कम उत्पादन हुने मौसममा त्यसैलाई बजारमा ल्याउन सकिन्छ ।

 

त्यो दूध संकलनका लागि हामीसँग संयन्त्र नै छैन । विश्व खाद्य संगठनको मापदण्डअनुसार प्रतिव्यक्ति प्रतिवर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा हाल नेपालमा ७७ लिटरजति मात्रै पुगेको छ । यसको पूर्ति गर्न उत्पादन बढाएर मात्र हुँदैन, उत्पादन सँगसँगै उपयुक्त प्रविधि प्रयोग गरी किसानसँग बढी भएको दूध व्यवस्थापन गर्नु जरुरी छ ।

हाल नेपालका डेरी उद्योगमा ३५ अर्ब निजीक्षेत्रको लगानी छ । ३० हजार जनाले डेरी उद्योगमा प्रत्यक्ष रोजगारी पाएका छन् । करीब ६ लाख कृषक परिवारले रोजगारी पाएका छन् । दैनिक करीब ६ करोड रुपैयाँ बराबर रकम शहरबाट गाउँमा प्रवाह भइरहेको छ । कुल गार्हस्थ्य उत्पादनमा ९ प्रतिशत योगदान रहेको यस क्षेत्रलाई अहिले अझ बढी व्यावसायिक र निर्यातमूलक बनाउन प्रविधिको प्रयोग नै सबैभन्दा ठूलो कुरा भएको छ ।

पछिल्लो २० वर्षको इतिहास हेर्दा नेपालमा डेरी उद्योगको संख्या निकै नै बढेको देखिन्छ । बजार पनि बढेकै छ । तर, दूधको गुणस्तरमा खासै सुधार हुन सकेको छैन ।

 

औपचारिक क्षेत्रको बजार बढ्नुपर्नेमा त्यो नभएर अनौपचारिक क्षेत्रको बजार बढेको देखिन्छ । तर, जुन क्षेत्रको भए पनि दूध तथा दुग्ध पदार्थको उपभोग भने बढेको देखिन्छ । भोजभतेर, गोष्ठी, सेमिनारमा दूध तथा दुग्ध पदार्थको प्रयोग बढेको छ । धेरै मानिस शाकाहारी भएका छन् । निर्वाहमुखी पशुपालन विस्तारै व्यवसायतिर ढल्केको देखिन्छ । उन्नत नश्लका गाईभैंसी उपलब्ध छन् । विगतमा बेलाबेलामा दूध नबिकेर फाल्नुपर्ने पीडाले किसान पलायन हुने गरेका थिए । करीब १० वर्षअगाडि पाउडर प्लान्ट आएपछि अलि सजिलो भएको थियो । तर, त्यो पनि शुरूशुरूका २/३ वर्ष मज्जाले चल्यो, बीचमा फेरि बन्द भयो । शुरूशुरूमा पाउडर दूध उद्योगको स्थापनाले गर्दा किसानको दूध जताततै सहज रूपमा विक्री भए र मूल्य पनि राम्रै पाए । तर, धेरै समयसम्म त्यो चल्न नसकेर बन्द हुँदा किसानको दूध विक्री नभएर उनीहरूलाई ठूलो मार पर्‍यो । त्यसपछि किसानहरू पेशाबाटै पलायन हुन थाले । कयौं किसानले बेचेको दूधको पैसा नै पाएनन् । त्यही बेलाबाट दूधमा कायम मौसमी मूल्यको पनि अन्त्य भयो । यसले उद्योगलाई ठूलो असर पार्‍यो । यसै समयमा कति किसान पलायन भए भने कतिले शहर बजारमा आएर आफै दूध बेच्न थाले । जसलाई आज हामी घरेलु डेरी अर्थात् अनौपचारिक क्षेत्र भन्छौं ।

अहिलेको अवस्थामा नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन भइरहेको छ । दुग्ध पदार्थमा हामी ८० प्रतिशत आत्मनिर्भर पनि भइसकेका छौं । ६२ लाख लिटर दूध उत्पादन भए पनि ३१ लाख लिटरमात्र बजारमा आउँछ । 

 

हिजो सहज रूपमा दूध विक्री गर्न नपाउँदा किसान आफैले शहरका टोलटोलमा पसल खोली दूध बेच्नुपर्ने अवस्था सृजना भएको थियो । त्यसले जुनसुकै बेला सजिलै दूध पाउने भएकाले उपभोक्ताको हित नै गर्‍यो । शहरका बजारमा मही बेच्न सिकाएका यिनै डेरीहरूले हो । घरेलु डेरीको कारण बजार विस्तार भएको छ । यो पेशामा आकर्षण पनि बढ्दो छ । यो २० वर्षको अन्तरालमा भूकम्प, कोभिडका कारण अलिअलि धक्का परे तापनि समग्रमा भन्ने हो भने डेरी क्षेत्रमा आकर्षण बढ्दो छ र लगानी पनि दिनदिनै थपिँदै छ । अझ थोरैमात्र राज्यको तर्फबाट सहयोग पुग्ने हो भने यो क्षेत्र अझ फराकिलो बन्दै जाने निश्चित देखिन्छ ।

हामी अहिले दूधमा करीब ८० प्रतिशत आत्मनिर्भरको अवस्थामा छौं । आत्मनिर्भर हुन बाँकी नपुग २० प्रतिशत तुरुन्त केही वर्ष मै पुर्‍याउन सकिन्छ । हामीले अन्य देशमा नभएका आफ्नो देशको मौलिक उत्पादनमा ध्यान दिई निर्यात गर्नतिर लाग्नुपर्छ । त्यो भनेको अहिले मुख्य त छुर्पी र चिज नै हो । यसमा लगानी पनि कम छ र निर्यात पनि गर्न सकिन्छ । यसमा थोरैमात्र राज्यले सहयोग गर्ने हो भने धेरै राम्रो गर्न सकिन्छ । छुर्पी हाम्रो देशको मौलिक उत्पादन हो । यसको हामीले प्याटेन्ट राइट लिएर विश्वभर निर्यात गर्न सक्छौं । अहिले बिडम्बना भन्नुपर्छ हाम्रो मौलिक उत्पादन भारतले आफ्नो भनेर उसको ब्रान्डमा निर्यात गरिरहेको छ । त्यसका लागि राज्य आफै लागिपर्नुपर्छ ।

(प्रशान्त खड्कासँगको कुराकानीमा आधारित)

 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [1]
User Image

गोविन्द राज जोशी

[May 6, 2022 04:45pm]

राम्रो लेख। दुग्ध पदार्थ विविधिकरणको लागी नेपाल सरकारबाट राम्रो तालिम ( झारा टार्ने तरीकाको नभएको)को व्यवस्था हुनुपर्छ । अर्को पाटोमा, विश्वविद्यालयको अनुसन्धान उद्योगमैत्री हुनुपर्छ र यसमा विश्वविद्यालयको अनुगमन हुनुपर्छ । देशको इन्जिनियरिंग (mechanical ) मा समेत dairy industries problem related course हुनुपर्छ ।



   

Riddhi Siddhi Cement