ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कृषिभन्दा म्यानुफ्याक्चरिङमा जोड

२०७९ बैशाख, २६  
सम्पादकीय
Image Not Found

नेपालमा योजनाबद्ध विकासको कार्यक्रम शुरू भएदेखि नै कृषिक्षेत्रलाई उच्च प्राथमिकतामा राखे पनि लगानीको अनुपातमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यसको योगदान चित्त बुझ्दो छैन । बरु, सेवाक्षेत्रको योगदान अनपेक्षित रूपमा बढिरहेको छ । सरकारले विश्वअर्थतन्त्र विकासको चक्रलाई नहेरी नीति ल्याएकाले नै यस्तो भएको हो । यसैबेला आगामी आवका लागि बजेट निर्माणमा जुटेको सरकारले पुरानै नीति लिएर गल्ती गर्न आँट्दै छ । दशकौंको प्रयोगमा असफल नीतिलाई कहिलेसम्म पछ्याइरहने त ?

म्यानुफ्याक्चरिङको विकासले मात्रै कृषिक्षेत्रलाई अगाडि बढाउँछ । उत्पादनमूलक उद्योगको विकासले प्रशोधन उद्योग पनि फस्टाउँछ । प्रशोधन उद्योगका लागि कच्चा पदार्थ कृषिले दिन्छ । यसो हुँदा कृषि उपजले सहज बजार पाउँछ र बजार पाएपछि कृषिक्षेत्र फस्टाउँछ ।

विश्व अर्थतन्त्रको इतिहास हेर्ने हो पहिला अर्थतन्त्रको मूल आधार कृषि नै रहेको देखिन्छ । यूरोपमा औद्योगिक क्रान्ति शुरू भएसँगै कृृषिमा आश्रित जनसंख्या र त्यसले जीडीपीमा दिएको योगदान घट्न थालेको पाइन्छ । कृषिपछि म्यानुफ्याक्चरिङ (उत्पादनमूलक) क्षेत्रले अर्थतन्त्रलाई विस्तार गर्‍यो । यो परिपक्व भएपछि सेवाक्षेत्रले अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान दिन थालेको हो । त्यसैले विकसित अर्थतन्त्रमा अहिले सेवाक्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ । यद्यपि ती देशमा उत्पादनमूलक क्षेत्र पनि उत्तिकै सशक्त रहेको छ । यसरी सेवा क्षेत्रको योगदान बढ्नका लागि उद्योगहरूको विकास उच्च तहमा पुगेको हुनु अनिवार्य मानिन्छ । विश्व अर्थतन्त्रको यो इतिहास विपरीत नेपालमा उद्योगहरूको विस्तार हुन नभ्याउँदै सेवाक्षेत्र विस्तार हुन थालेको छ । अहिले झन्डै ६५ प्रतिशत जनसंख्या संलग्न कृषि क्षेत्रले जीडीपीमा २३ दशमलव ९५ प्रतिशत योगदान दिएको छ भने गैरकृषि क्षेत्रको योगदान ७६ दशमलव शून्य ५ प्रतिशत योगदान दिएको छ । यसमा सेवाक्षेत्रको योगदान निकै बढी छ । तर, सरकारले गरेको लगानी कृषिक्षेत्रमा बढी रहेको छ । विभिन्न शीर्षकमा दिइएको अनुदान र प्रत्येक वर्ष दिएको उच्च प्राथमिकताले कृषिक्षेत्रको उत्पादन र उत्पादकत्व कति बढायो त ? सरकारले जति नै उच्च प्राथमिकता दिए पनि गत आर्थिक वर्ष ३ खर्ब २५ अर्बको कृषिजन्य वस्तुको आयात भएको थियो । सरकारको कार्यक्रम पूरै असफल भए पनि त्यही नारा र त्यही कार्यक्रम दोहोर्‍याउन छाडेको छैन । यस्तो नीतिले न कृषिक्षेत्रको विकास हुन्छ न अन्य क्षेत्रको नै ।

कृषिको विकासका लागि सरकारले अनुदान दिने जुन नीति लिएको छ त्यो नै गलत छ । अनुदानले कृषि उत्पादन बढेको छैन र बढ्दैन पनि । अनुदानभन्दा बजारको व्यवस्था मिलाउन आवाज उठाएको पनि धेरै भइसक्यो तर त्यसतर्फ काम भएको छैन । कृषिमा अनुदान दिने नारा ल्याउँदा पाइने प्रशंसाले नै सरकार नीति परिवर्तन गर्न रोकिएको हुन सक्छ । त्यसैले अर्थतन्त्रलाई विस्तार गर्ने हो र कृषि उत्पादन पनि बढाउने हो भने उत्पादनमूलक क्षेत्रलाई पहिलो प्राथमिकता दिनु सबैभन्दा उपयुक्त र तर्कपूर्ण देखिन्छ ।

सेवाक्षेत्रको बढ्दो विस्तार अर्थतन्त्रका लागि घातक हुन सक्छ । वास्तवमा अहिले उत्पादनविनाको सेवाक्षेत्रको वृद्धि भनेको अर्थतन्त्र सुन्निएको अवस्था हो । नेपालको अर्थतन्त्रलाई सुन्निने बनाउन विप्रेषणको भूमिका छ । गरीबी न्यून गर्न विप्रेषणको भूमिका सकारात्मक रहे पनि त्यसले बढाएको उपभोगका कारण व्यापारघाटाको आँकडा माथि उक्लिएको हो । त्यस्तै गैरसरकारी संस्थाहरूका कारण पनि सेवाक्षेत्र उचालिएको हो । यो रकम आउन छाड्नासाथ सेवाक्षेत्र सुस्ताउन सक्छ । म्यानुफ्याक्चरिङ क्षेत्रको पूर्ण विकास भएमा आयस्तरमा वृद्धि भई खर्च क्षमता पनि बढ्छ । आन्तरिक उत्पादन बढ्छ । यसपछि बढेको सेवाक्षेत्रले अर्थतन्त्रमा समस्या निम्त्याउने सम्भावना कम हुन्छ । अर्थतन्त्रको यो शृंखला जोड्न म्यानुफ्याक्चरिङलाई सबैभन्दा उच्च प्राथमिकता दिनैपर्छ । र, स्वदेशी कृषि उपज खपत गर्ने सुनिश्चितता भएको म्यानुफ्याक्चरिङलाई प्राथमिकता दिनुपर्छ । अहिले अर्थतन्त्रमा ठूलै पोलिसी डिपार्चरको आवश्यकता छ । म्यानुफ्याक्चरिङलाई उच्च प्राथमकिता र कृषिलाई कम प्राथमिकताबाट यो शुरू गर्न सकिन्छ । म्यानुफ्याक्चरिङको विकासले मात्रै कृषिक्षेत्रलाई अगाडि बढाउँछ । उत्पादनमूलक उद्योगको विकासले प्रशोधन उद्योग पनि फस्टाउँछ । प्रशोधन उद्योगका लागि कच्चा पदार्थ कृषिले दिन्छ । यसो हुँदा कृषि उपजले सहज बजार पाउँछ र बजार पाएपछि कृषिक्षेत्र फस्टाउँछ । यसले गर्दा कृषिको विकास गर्न सरकारले अनेक कार्यक्रम पनि ल्याइरहनु परेन । त्यसैले कृषिको लोकप्रियताको नाराबाट माथि उठेर म्यानुफ्याक्चरिङमा जोड दिने नीतितर्फ सरकार लाग्नुपर्छ । यो नै अहिले गर्न सकिने र आवश्यक कार्यभित्र पर्नुपर्छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement