वैशाख २६, काठमाडौं । जेठदेखि आइतवार पनि सार्वजनिक विदा हुने भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवारदेखि शुक्रवारसम्म बजार सञ्चालन गर्ने भएको छ ।
नेप्सेको सञ्चालक समितिको वैशाख २१ गतेको बैठकले सरकारको निर्णय अनुसार कार्यालय समय सञ्चालन गर्ने र बजार सञ्चालन भने सोमवारदेखि शुक्रवारसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यो निर्णयलाई कार्यान्वयनका लागि नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई समेत निर्देशन दिइसकेको जानकारी दिएको छ ।
यस अघि नेप्सेले आइतवारदेखि बिहीवारसम्म पाँच कारोबार दिन बजार सञ्चालन गर्दै आएको थियो । सार्वजनिक बिदाको विषय उठ्नु अघिनै सम्पूर्ण सरोकारवालाहरुले शुक्रवार पनि बजार सञ्चालनका लागि जोड दिदैं आएका थिए ।
धितोपत्र कारोबारको राफसाफ गर्दै आएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले समेत यस अघिनै शुक्रवार पनि कारोबार गर्नुु पर्नेमा जोड दिदैं आएको थियो । शुक्रवारपछि लगातार दुई दिन सार्वजनिक बिदा हुने भएकाले उक्त दिनको राफसाफ सोमवार हुने जानकारी सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको छ ।
साथै, नेप्सेले अडटल कारोबार नगराउन समेत सम्पूर्ण ब्रोकरहरुलाई निर्देशन दिएको छ । धितोपत्र कारोबार सञ्चालन नियमावलीमा भएको व्यवस्था अनुसार सामूहिक लगानीकोषको इकाई भएमा अंकित मूल्य रू. १० को १०० कित्ता, अंकित मूल्य रू. १०० भएमा १० कित्ता कारोबार हुने व्यवस्था रहेको छ ।
त्यस्तै अंकित मूल्य रू. १ हजार भएको ऋणपत्र भएमा १ कित्ता कारोबार हुने व्यवस्था रहेको छ । उल्लेखित कारोबार इकाई भन्दा कम परिमाणको धितोपत्र अडलट हुने नेप्सेको भनाइ छ ।
कारोबार इकाई वा सोभन्दा बढी धितोपत्र भएका धितोपत्रधनिहरुले आफ्नो धितोपत्रलाई अडलट बनाई समेत विक्री गर्न नपाईने जानकारी नेप्सेले दिएको छ ।
उल्लेखित अडटलको कानूनी व्यवस्था कार्यान्वयनको जिम्मेवारी ब्रोकरहरुको रहेको स्मरण गराउँदै नेप्सेले कारोबार व्यवस्थापन प्रणालीमा अनलाइन तथा अफलाइनमार्फत समेत अडलटमा कारोबार नगराउन भनेको हो ।