वैशाख २६, काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ९ महीनामा रू. ५२ करोड २० लाखभन्दा बढी खुद नाफा गरेको छ ।
यस वर्ष गत वर्षको सोही अवधिको तुलनामा कम्पनीले १ दशमलव २४ प्रतिशत मात्र खुद नाफा बढाएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. ५१ करोड ५६ लाखभन्दा बढी थियो ।
यस वर्ष कम्पनीको सञ्चालन नाफा भने साढे १ प्रतिशत कम भएको छ । गत वर्ष रू. ५५ करोड १८ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ५४ करोड ३२ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।
कम्पनीको गत वर्षभन्दा यस वर्ष वित्तीय आम्दानी २० दशमलव २४ प्रतिशत बढी भएकाले खुद नाफामा सामान्य वृद्धि देखिएको हो । गत वर्ष रू. १० करोड ८२ लाखभन्दा बढी वित्तीय आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १३ करोड १ लाखभन्दा बढी यो आम्दानी गरेको हो ।
कम्पनीको विद्युत विक्री आम्दानी गत वर्ष रू. ८० करोड ९२ लाखभन्दा बढी रहेकोमा यस वर्ष करीब २ प्रतिशत बढेर रू. ८२ करोड ३४ लाखभन्दा बढी भएको छ ।
७ दशमलव ५० प्रतिशत बोनस शेयरमार्फत पूँजी वृद्धि गरी रू. ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार कायम गरेको कम्पनीको रिटेन्ड अर्निङ ४ दशमलव २७ प्रतिशत कम रू. ३ अर्ब ३९ करोड ८७ लाख रहेको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १० दशमलव २१ र प्रतिशेयर नेटवर्थ रू. १५० दशमलव ३४ रहेको छ । यस अवधिसम्म कम्पनीको मूल्य आम्दानी अनुपात भने २९ दशमलव ४० गुणा रहेको छ ।