चरिकोट : निर्वाचन प्रभावित पार्न दोलखाको तामाकोसी गाउँपालिका–२ झुले प्रवेश गरेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यही वैशाख ३० गते हुने निर्वाचन प्रभावित बनाउन गैर मतदाता प्रवेश गरेको पाइएपछि स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
अपरिचित व्यक्तिहरु गाउँ प्रवेश गरेको सूचनाका आधारमा खोजी गर्ने क्रममा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको हो । २ जना भने मोटरसाईकलमा फरार भएका छन् ।
निर्वाचन बिथोल्ने उदेश्यका साथ उनीहरु ६ वटा मोटसाइकलमा प्रवेश गरेका थिए । गैरमतदाता शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाईएको स्थानीयले बताएका छन् ।
उनीहरुले प्रयोग गरेको ६ वटा मोटसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयका अनुसार मतदाता त्रसित पार्न र बुथ कब्जा गर्ने उदेश्यले उनीहरु झुले प्रवेश गरेका हुन् । निर्वाचन बिथोल्न शंकास्पद रुपमा गाउँ प्रवेश गर्न लागेका युवालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको दोलखाका प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार उनीहरुलाई कसले प्रयोग गरेर भित्र्याएको भन्ने बारेमा अुनुसन्धान भइरहेको छ । निर्वाचन बिथोल्न र उम्मेदवारलाई धम्की दिनका लागि बाहिरबाट गैरमतादाता युवा प्रवेश गर्न लागेको आशंकामा जिल्लाभरका नाकाहरुमा थप कडाइ गरेर चेकजाँच र खानतलासी तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
तामाकोसी गाउँपालिका स्थित विभिन्न मतदान केन्द्रहरुमा यसअघिका निर्वाचनमा पनि गैरमतदाता प्रवेश गरी निर्वाचन प्रभावित गर्ने गरेका थिए । झुलेमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका प्रकाश पाख्रिनको नेतृत्वमा बाहिरबाट युवाहरु झिकाईएको स्थानीयको आशंका छ ।
त्यहाँ कांग्रेसबाटै अर्को बागी उम्मेदवार उठेपछि बुथ कब्जा गर्न यवाहरु ल्याईएको हुनसक्ने स्थानीयले बताएका छन् । (लक्ष्मण थामी/दोलखा)