ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अमेरिकी डलर अहिलेसम्मकै महँगो, १ डलरको १२४ रुपैयाँ २५ पैसा

२०७९ बैशाख, २७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २७, काठमाडौं । नेपाली मुद्रा बजारमा अमेरिकी डलर अहिलेसम्मकै महँगो बनेको छ । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि सार्वजनिक गरेको विनीमयदर अनुसार एक डलरको खरीददर १२३ रुपैयाँ ६५ पैसा कायम गरेको छ । 

डलरको विक्रीदर भने १२४ रुपैयाँ २५ पैसा तोकिएको छ । यसको अर्थ नेपालीहरुले एक डलर किन्न १२४ रुपैयाँ २५ पैसा खर्च गर्नु पर्नेछ । नेपाली बजारमा अमेरिकी डलर यति महँगो बनेको यो नै पहिलो पटक हो । अघिल्लो दिन पनि डलरको भाउले नयाँ उचाई छोएको थियो । 

सोमवार अन्तरराष्ट्रिय मुद्रा बजारमा डलर सूचक १०४ दशमलव १९ अंकमा उक्लिएको थियो । यो सन् २००२ को जुलाई यताकै उच्च हो । डलर बलियो भएसँगै भारतीय रुपयाँको भाउ डलरको तुलनामा कीर्तिमानी न्यून स्तरमा ओर्लिएपछि यसको सिधैं असर नेपाली रुपैयाँमा देखिएको हो । नेपाली रुपैयाँलाई भारतीय रुपयाँसँग आबद्ध गरिएको छ । 

अर्थात् यी दुई मुद्राबीच स्थिर विनिमय दर कायम छ । डलर भारुको विनिमय दरको असर सोझै नेपाली रुपैयाँमा देखिन्छ । सोमबारको कारोबारमा प्रतिडलर भारुको भाउ ७७ रुपयाँ ३१ पैसासम्म आएको थियो । 

अमेरिकाले गएको हप्ता २ दशकयताकै उच्च दरमा ब्याजदर बढाएपछि डलरको भाउले हालैका दिनमा टेवा पाइरहेको छ । डलर बलियो भएको र अमेरिकी ऋणपत्रको प्रतिफल पनि बढेको अवस्थामा विदेशी लगानीकर्ताहरुले भारतीय बजारबाट लगानी झिक्न थालेका छन् । यसले रुपयाँको भाउ दबाबमा आएको छ । 

महँगी नियन्त्रण गर्न फेडले यस वर्ष आक्रामक रुपमा ब्याजदर बढाउने संकेतले पनि डलरको भाउ बढाइरहेको छ । पछिल्लो समय सेभ हेभन एसेटको रुपमा डलरमा लगानी बढिरहेको अवस्थाले पनि यसको भाउ उकालो लागिरहेको हो । सोमवार मुद्रा बजारमा यूरो, येन, पाउन्डलगायत मुद्रा डालोमा आबद्ध अधिकांश मुद्राको तुुलनामा डलरको भाउ बढेको थियो । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement