ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०७९ बैशाख, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २७, काठमाडौं । वैशाख ११ गतेदेखि निष्कासनमा आएको बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ । 

कम्पनीले आयोजना प्रभावित स्थानीय क्षेत्रका वासिन्दाहरुका लागि प्रतिशेयर रू. १०० अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो । 

कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं. ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. ८ र ९ का स्थानीय बासिन्दाहरुका लागि ७ लाख कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ३ लाख कित्ता शेयर लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरिएको हो ।

यो आईपीओ खरीदका लागि सानिमा बैंकको बिरौटा तथा पोखरा शाखा कार्यालय, सिभिल बैंकको मालिङ्ग शाखा कार्यालय, कामना सेवा विकास बैंकको कास्की तथा बेशिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेशिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिने व्यवस्था छ । यसका साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ खरीदका लागि आवेदन दिदा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस आईएस रेटिङ प्रदान गरेको छ । जारी पूँजी रू. १ अर्ब रहेको कम्पनीको हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. ७५ करोड रहेको छ । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा जारी पूँजीको १० प्रतिशत आईपीओ विक्री गरेको हो । दोस्रो चरणमा सर्वसाधारणका लागि जारी पूँजीको १५ प्रतिशत शेयर विक्री गर्ने तयारी कम्पनीको छ । 

कम्पनीको आर्थिक वर्ष ०७७/७८ सम्ममा वास्तविक प्रतिशेयर नेटवर्थ रू. ११९ दशमलव ३४ रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी भने रू. ९ दशमलव ६८ छ । कम्पनीले कास्की जिल्लामा ८ दशमलव ८ मेगावाट क्षमताको रुदि खोला ए जलविद्युत् आयोजना र ६ दशमलव ६ मेगावाट क्षमताको रुदि खोला बि जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । 

रुदि खोला ए जलविद्युत् आयोजनाको कुल लागत रू. १ अर्ब ५५ करोड ५० लाख ९९ हजार र रुदि खोला बि जलविद्युत् आयोजनाको निर्माण लागत रू. १ अर्ब ३३ करोड ९७ लाख २८ हजार रहेको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement