ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

स्थानीय तहको निर्वाचन : आचारसंहिता पालना र निगरानीमा आयोगको जोड

२०७९ बैशाख, २८  
समाचार
Image Not Found

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र ढंगले सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति तय गरेको छ । सोही क्रममा आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरिरहेको भने निगरानी चुस्त बनाउन मत गणनास्थस्थलमा अनिवार्य रूपमा क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) राख्नुपर्ने व्यवस्था गरेको छ ।   

आयोगले ७५३ ओटै स्थानीय तहको मतगणना स्थलमा अवाञ्छित गतिविधि रोक्ने र विवाद कम गर्ने उद्देश्यले सीसीटीभी राख्न यस अघि नै निर्देशन दिइसकेको थियो । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागि समेत यो उपयोगी हुनेछ ।

सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरेको थियो ।

मंगलवारसम्ममा सबै पालिकामा त्यस्तो क्यामेरा जडान भइसकेको बताइएको छ । त्यस्तै ५० पालिकाले आयोगको भीएमएस सिस्टमसँग जडान नहुने सीसीटीभी जडान गरेको पाइएकाले त्यसलाई पनि सोही प्रणालीमा जडान हुनेगरी व्यवस्था गर्न भनिएको छ । त्यस्तो कार्य वैशाख २९ गतेसम्म पूर्णरूपमा सम्पन्न गर्न निर्देशन दिइएको छ ।     

आयोगले जिल्ला प्रशासन कार्यालय, स्थानीय तहका निर्वाचन अधिकृतलाई त्यस्तो निर्देशन गरेको हो । सबै मतगणनास्थलको प्रत्यक्ष दृश्य आयोगको बहादुरभवनस्थित कार्यालयबाटै हेर्न मिल्नेगरी व्यवस्था मिलाइएको छ । यसबाट निर्वाचनको विश्वसनीयतामा समेत वृद्धि हुने र कुनै अवाञ्छित गतिविधिले प्रश्रय नपाउने विश्वास लिइएको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने बताएका छन् । विगतको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका र केही पालिकामा मतगणनामा विवाद हुँदा केही वडामा पुनः मतदान समेत भएको थियो । निर्वाचनका लागि कुल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र निर्धारण गरिएको छ । यस्तै कुल १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । यही वैशाख ३० गते ७५३ स्थानीय तहका कुल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदै छ । निर्वाचनमा १ लाख ४५ हजार १० उम्मेदवार छन् । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement