काठमाडौं । विगतका निर्वाचनभन्दा स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा कानूनी तथा व्यावहारिक जटिलताबाहेक निर्वाचन प्रक्रियामा सुधार हुँदै गएको पाइएको छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) नेपालले स्थानीय तहको निर्वाचनपूर्व गरेको पर्यवेक्षणका क्रममा छिटफुट घटनाबाहेक मनोनयन दर्ता शान्तिपूर्ण रूपमा भएको जनाइएको छ ।
समितिले स्थानीय तह निर्वाचनका लागि ३० जिल्लाका २०० पालिकामा ४०० प्रतिनिधिमार्फत पर्यवेक्षण गरेको छ । राजनीतिक दल दर्ता, उम्मेदवारी दर्ता प्रक्रियादेखि मौन अवधि शुरू हुनु एक दिन अगाडिसम्मका सम्पूर्ण वस्तुस्थिति समावेश गरिएको निर्वाचनपूर्व पर्यवेक्षण प्रतिवेदन मंगलवार सार्वजनिक गरिएको छ ।
राजनीतिक दल, उम्मेदवार र मतदातासमेत परिपक्व हुँदै गएको, एकाध ठाउँमा बाहेक दल तथा उम्मेदवार शान्तिपूर्ण रूपमा प्रचारप्रसारमा खटिएको, दल तथा उम्मेदवारले एकआपसका विरुद्ध बल प्रयोग गरेको नदेखिएको सार्वजनिक गरिएको निर्वाचनपूर्व पर्यवेक्षण प्रतिवेदनमा उल्लेख छ ।
राजनीतिक दलका कार्यकर्ता चुनावी प्रचारप्रसारमा संयमित भएका कारण मतदाताले सुरक्षित महसुस गरेको जियोकले बताएको छ । पर्यवेक्षणका क्रममा राजनीतिक दलका कार्यकर्ताबीच आपसमा खासै तिक्तता, द्वेष र घृणाको अवस्था नपाइएको, प्रचारप्रसारमा विगतका निर्वाचनभन्दा संयमित भएको पाइएको तथा उम्मेवारी छनोटमा भएको असन्तुष्टिका कारण उम्मदेवारी दर्ताका दिन दलभित्रै केही ठाउँमा झडप भएको पाइएको छ ।
निर्वाचन आचारसंहिता पालनामा राजनीतिक दल तथा सरोकारवाला सचेत भए तापनि उम्मेदवारी दर्ताका दिन उम्मेदवारबाट शक्ति प्रदर्शन गर्ने ध्येयले बाजागाजा, ठूला ब्यानर र झन्डासहित निर्वाचन कार्यालयमा उपस्थित भएको पाइएको प्रतिवेदनमा उल्लेख छ । रासस