ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

केन्द्रीय बैंकको विद्युतीय मुद्रा

विभिन्न आयामका प्रच्छन्न मुद्राभन्दा पृथक्

२०७९ बैशाख, २८  
लेख | दृष्टिकोण
Image Not Found

अहिलेसम्म विश्वका नौ देशका केन्द्रीय बैंकहरूले जारी गरिसकेका र अन्य अधिकांश देशका केन्द्रीय बैंकहरूले निष्कासन गर्ने योजना बनाएका कारण केन्द्रीय बैंकको विद्युतीय मुद्रा (सेन्ट्रल बैंक डिजिटल करेन्सी) विश्व वित्तीय क्षेत्रमा चर्चाको शिखरमा छ । नेपाल राष्ट्र बैंकले पनि आफ्नै विद्युतीय मुद्रा जारी गर्ने सम्बन्धमा अध्ययन शुरू गर्ने घोषणा गरेपछि नेपालमा पनि यसले थप चर्चा पाउन थालेको छ ।

भौतिक मुद्राको कारोबारका लागि तिनको भौतिक उपस्थिति अनिवार्य नै मानिन्छ भने विद्युतीय मुद्राको सञ्चय र कारोबारका लागि भने इन्टरनेटजडित विद्युतीय उपकरणहरूको आवश्यकता पर्छ ।

त्यसो त फिनल्यान्डको केन्द्रीय बैंक ‘बैंक अफ फिनल्यान्ड’ ले सन् १९९० मै जारी गरेको ‘एभ्यान्ट कार्ड सिस्टम’ लाई अहिलेसम्मकै केन्द्रीय बैंकले जारी गरेको पहिलो विद्युतीय मुद्राका रूप मानिन्छ । तर, अहिले व्याख्या गरिएका स्वरूपमा भने बहमासको केन्द्रीय बैंकले सन् २०२० को अक्टोबर महीनामा ‘सान्ड डलर’ नामक यस्तो मुद्रा राष्ट्रव्यापी रूपमा जारी गरी विद्युतीय मुद्रा सञ्चालन गर्ने पहिलो देश बनेको थियो । त्यसै गरी आजभन्दा ८ वर्षअगाडि अध्ययन प्रारम्भ गरेको चीनको ‘बैंक अफ चाइना’ले पनि डेढ वर्ष अगाडि मात्र ‘ई–युआन’ जारी गरेर यस्तो मुद्रा जारी गर्ने एशियाको जेठो केन्द्रीय बैंक भएको थियो । विद्युतीय मुद्रा जारी गर्ने सबैभन्दा कान्छो केन्द्रीय बैंकका रूपमा बैंक अफ नाइजेरियाले करीब ९ महीनाअघि ‘इ–नाइरा’ जारी गरेको थियो । बहमास र नाइजेरियाको बीचमा स्वीडेन, भारत, जमैका, रूसजस्ता देशका केन्द्रीय बैंकहरूले यस्ता विद्युतीय मुद्रा जारी गरिसकेका छन् ।

यूरोपेली केन्द्रीय बैंकले पनि आगामी वर्षको प्रारम्भदेखि ‘इ–यूरो’ जारी गर्ने जनाएको छ । अमेरिकामा पनि गत महीना राष्ट्रपति बाइडेनले अमेरिकी फेडेरल रिजर्भलाई विद्युतीय मुद्रा निष्कासन गर्ने सम्बन्धमा अनुसन्धान तथा विकासका गतिविधि अगाडि बढाउने गरी कार्यकारी आदेश जारी गरेका छन् । यसबाट अर्को वर्षसम्ममा त्यहाँ पनि केन्द्रीय बैंकको विद्युतीय मुद्रा जारी हुने अनुमान गर्न सकिन्छ । संक्षेपमा भन्ने हो भने अबका केही वर्षभित्रैै विश्वव्यापी रूपमा भौतिक मुद्राको कायापलट भई तिनले विद्युतीय स्वरूप ग्रहण गर्ने अनुमान गर्न सकिन्छ । यही परिप्रेक्ष्यमा यो सानो आलेखमा केन्द्रीय बैंकले जारी गर्ने विद्युतीय मुद्रा र प्रच्छन्न मुद्रासँगको त्यसको पृथक्ताका बारेमा संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।

के हो केन्द्रीय बैंकले जारी गर्ने विद्युतीय मुद्रा ?
विनिमयको माध्यम, मुद्राको अन्तर्निहित मूल्य, सञ्चय, मापन गर्ने एकाइजस्ता भौतिक मुद्राका आधारभूत विशेषताहरूलाई जस्ताको तस्तै प्रतिबिम्बित गर्ने गरी केन्द्रीय बैंकहरूले विद्युतीय रूपमा जारी गर्ने मुद्रालाई ‘केन्द्रीय बैंकले जारी गर्ने विद्युतीय मुद्रा’ भनिन्छ । यस अर्थमा भौतिक वा नगद मुद्राकै विद्युतीय स्वरूपको अर्थमा यसलाई बुझ्न सकिन्छ । भौतिक मुद्राको कारोबारका लागि तिनको भौतिक उपस्थिति अनिवार्य नै मानिन्छ भने विद्युतीय मुद्राको सञ्चय र कारोबारका लागि भने इन्टरनेटजडित विद्युतीय उपकरणहरूको आवश्यकता पर्छ ।

केन्द्रीय बैंकले खुद्रा तथा थोक रूपमा यस्तो विद्युतीय मुद्रा जारी गर्न सक्छन् । खास गरी कुनै पनि व्यक्तिले व्यक्तिगत प्रयोजनका लागि आफ्नो विद्युतीय खल्ती (डिजिटल वालेट) मार्फत प्रयोग गर्ने गरी खुद्रा विद्युतीय मुद्राको प्रयोग गर्न सक्छ भने बैंकहरूले ठूलो मात्रामा रकमहरूको कारोबारका लागि थोक विद्युतीय मुद्रा प्रयोग गर्न सक्छन् । बैंकहरूमार्फत नभई केन्द्रीय बैंकले व्यक्तिको वालेटमा सोझै स्थानान्तरण गर्ने गरी एकमुखे (वान टायर) विद्युतीय मुद्रा पनि सञ्चालन गर्न सक्छन् भने बहमास तथा चीनका केन्द्रीय बैंकहरूले जस्तै वाणिज्य बैंकहरूमार्फत व्यक्तिहरूको खल्तीमा स्थानान्तरण हुने गरी दुई मुखे (टू टायर) मुद्रा पनि सञ्चालनमा आउन सक्छन् ।

प्रच्छन्न मुद्रासँगको पृथक्ता
वैधानिकता, मूल्य स्थिरता, निष्कासन, नियमन, नियन्त्रण, पारदर्शिता, आर्जन तथा स्थानान्तरण प्रक्रिया आदिका आधारमा केन्द्रीय बैंकले जारी गर्ने विद्युतीय मुद्रा र प्रच्छन्न मुद्राको बीच आधारभूत भिन्नता रहेको देखिन्छ ।

केन्द्रीय बैंकले जारी गर्ने विद्युतीय मुद्राजस्तै निजी रूपमा कम्प्युटरको ब्लक चेन प्रविधिमार्फत विकसित गरिने विद्युतीय मुद्रालाई प्रच्छन्न मुद्रा (क्रिप्टो करेन्सी) भनिन्छ । कतिपय अनलाइन सपिङ सम्बन्धी कम्पनीहरूले प्रच्छन्न मुद्रामा मात्र भुक्तानी स्वीकार्ने अवस्था रहेको र आम रूपमा यस्ता मुद्रालाई पनि एक प्रकारले विद्युतीय मुद्राकै रूपमा अंगीकार गर्ने गरिएको भए पनि अहिले आएर मूल्यमा आउने उतार चढावबाट फाइदा कमाउने उद्देश्यले सट्टेबाजीको साधनको रूपमा यस्ता प्रच्छन्न मुद्राहरूको प्रयोग व्यापक भइरहेको देखिन्छ ।

केन्द्रीय बैंकले जारी गर्ने विद्युतीय मुद्राको कानूनी हैसियत भौतिक मुद्राको जत्तिकै हुने भएकाले प्रच्छन्न मुद्राभन्दा यसलाई धेरै सुरक्षित मानिन्छ ।

केन्द्रीय बैंकले जारी गर्ने र प्रत्याभूति पनि हुने हुनाले विद्युतीय मुद्राको मूल्य अपेक्षाकृत स्थिर रहन्छ भने सट्टेबाजीको साधनका रूपमा आम रूपमा प्रयोग हुने कारणले प्रच्छन मुद्राको मूल्यमा तीव्र उतारचढाव आउने हुन्छ ।

नियन्त्रण र नियमनको दृष्टिले पनि केन्द्रीय बैंकको विद्युतीय मुद्राभन्दा विकेन्द्रित रूपमा ब्लक चेन प्रविधिमा आधारित प्रच्छन्न मुद्रा स्वतन्त्र हुन्छन् ।

वैधताको दृष्टिले पनि केन्द्रीय बैंकले जारी गर्ने विद्युतीय मुद्राको तुलनामा प्रच्छन्न मुद्राको वैधानिकता अहिले पनि प्रश्न चिह्नकै घेराभित्र रहेको देखिन्छ । विशेष गरी सम्पत्ति शुद्धीकरण जस्ता वित्तीय अपराध तथा आतंकवादी संगठनहरूको लागि आवश्यक वित्तीय सिञ्चनका लागि प्रच्छन्न मुद्राको व्यापक प्रयोग बढ्न थालेपछि विश्वका अधिकांश देशहरूले यसको कारोबारलाई अवैध घोषणा गरेका छन् । नेपालमा पनि प्रच्छन्न मुद्राको कारोबारलाई अवैध मानिन्छ्र तर कतिपय मुलुकहरूमा निर्धारित नीतिगत सीमा र कारोबारको प्रकृतिअनुसार यस्ता मुद्राको कारोबारलाई करको दायरामा समेटेर वैधानिकता समेत प्रदान गर्ने क्रम बढ्दो छ । भारतले हालै मात्र प्रच्छन्न मुद्रालाई वैधानिकता दिनुलाई यसैको एक कडीका रूपमा मान्न सकिन्छ । नियमनको दृष्टिले पनि केन्द्रीय बैंकले जारी गर्ने विद्युतीय मुद्रा प्रच्छन्न मुद्राको तुलनामा अत्यधिक नियमित हुन्छ । विकेन्द्रित रूपमा जारी हुने भएकाले र केन्द्रीय बैंकको नियन्त्रण नहुने भएकाले प्रच्छन्न मुद्रा नियमनको दृष्टिमा ‘स्वच्छन्द’ हुन्छन् ।

पारदर्शिताको दृष्टिले पनि विद्युतीय मुद्रा र प्रच्छन्न मुद्रा बीच भिन्नता पाउन सकिन्छ । प्रच्छन्न मुद्रासँग सम्बद्ध कारोबारहरू सार्वजनिक रूपमा पारदर्शी ढंगले सार्वजनिक हुने भएकाले गोपनीयताको दृष्टिले प्रच्छन्न मुद्रालाई कमजोर मानिन्छ । अर्कोतिर पठाउने व्यक्ति, पाउने व्यक्ति र सम्बद्ध बैंकलाई मात्र कारोबारको बारेमा जानकारी हुने भएकाले विद्युतीय मुद्राले व्यक्तिगत गोपनीयताको पनि सम्मान गरेको देखिन्छ । केन्द्रीय बैंकको विद्युतीय मुद्राको कारोबारको लागि बैंकहरू जस्ता मध्यस्थकर्ताहरूको उपस्थिति अनिवार्य हुन्छ भने प्रच्छन्न मुद्राको कारोबार व्यक्तिव्यक्ति बीच प्रत्यक्ष रूपमा हुने भएकाले बीचमा कुनै पनि मध्यस्थकर्ता सहभागी हुँदैनन् ।

नेपाल राष्ट्र बैंकले पनि विद्युतीय मुद्रा जारी गर्ने सम्बन्धमा अध्ययन गर्ने घोषणा गरेको परिप्रेक्ष्यमा देशमा त्यसका लागि विद्यमान चुनौतीहरूलाई पनि बेवास्ता गर्न मिल्दैन । प्रविधि र पर्याप्त वित्तीय साक्षरताले अभावग्रस्त हाम्रो जस्तो देशमा विद्युतीय मुद्राको आम प्रयोगका लागि प्रविधियुक्त वित्तीय पहुँच र साक्षरतायुक्त वित्तीय जागरुकता अपरिहार्य देखिन्छ ।

लेखक बैंकर हुन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement