ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

यो वर्ष किसानले समयमै पाउलान् त रासायनिक मल ? भारतबाट जेठ भित्रै १ लाख टन मल ल्याउने तयारी

२०७९ बैशाख, २८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । खेतीपातीको समयमा मल अभाव हुन नदिन जीटूजी प्रक्रियामार्फत सरकारले भारतबाट आयात गर्ने भनिएको रासायनिक मल आगामी जेठभित्रै नेपाल ल्याउने गरी तयारी थालिएको छ । सम्बद्ध अधिकारीका अनुसार जेठभित्रै १ लाख मेट्रिक टन (मेटन) मल नेपाल ल्याइनेछ । 

सरकारले आगामी ५ वर्षका लागि जीटूजी प्रक्रियामार्फत ९ लाख ३५ हजार मेटन रासायनिक मल ल्याउने गरी भारत सरकारसँग गत फागुनमा सम्झौता गरेको थियो ।

सम्झौतामा कहिलेदेखि र कुन मूल्यमा मल ल्याउने उल्लेख थिएन । खेतीपातीको सिजन शुरू हुन करीब १ महीना बाँकी रहँदा फास्टट्र्याकबाट जतिसक्दो चाँडो मल ल्याउने गरी दुई देशका अधिकारीहरू लागिपरेको मल आयातको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडको भनाइ छ ।  

फास्टट्र्याकबाट मल आयात गर्न कृषि सामग्री कम्पनीका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीसहितको टोली गत बिहीवार भारतीय अधिकारी भेटेर फर्किएको छ । भेटमा भएको छलफलअनुसार मल आयातको प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको कार्कीले जानकारी दिए । 

मल आयात गर्दा कुनै कर लाग्ने छैन । भारतले सेवा शुल्क र मार्जिन राख्ने छैन । त्यसैगरी भारतले आफूले किनेको मूल्यको आधारमा लटअनुसार मूल्य तोकेर नेपाललाई मल उपलब्ध गराउनेछ । अन्तरराष्ट्रिय बजारमा मूल्य घटबढ भएमा उसले सोहीअनुसार मूल्य तोक्नेछ । नेपालको मल गोदामसम्म ढुवानी पनि भारत सरकारले नै गरिदिने सहमति भएको कार्कीले जानकारी दिए । 

सबै कुरा मिलेपछि अबको २ साताभित्र पहिलो खेपमा ६० हजार मेटन युरिया र ४० हजार मेटन डीएपी गरी १ लाख मेटन मल भारतीय ढुवानी साधनले नै वीरगञ्ज र विराटनगरस्थित कृषि सामग्रीको गोदामसम्म ल्याइदिनेछन् । चालू आर्थिक वर्षमा ल्याउने सहमति भएको बाँकी ५० हजार मेटन भने असार १५ भित्र ल्याइसक्ने योजना रहेको कार्कीले बताए ।

नेपालमा वार्षिक करीब ८ लाख मेटन रासायनिक मल आवश्यक पर्छ । वर्षे बालीका लागि करीब १ लाख ५० हजार मेट्रिक टन आवश्यक पर्छ । जीटूजीको मल ल्याउन ढिलो भए यस वर्ष पनि रोपाइँको समयमा मल अभाव हुनेछ । कृषि सामग्रीसँग यतिबेला १५ हजार ५ सय मेटन डीएपी, ३ सय ८६ मेटन युरिया र ६ हजार ७ सय मेटन पोटास मलमात्र मौज्दात छ । सरकारी अनुदानको मल वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग पनि कत्ति पनि मल छैन ।

साल्ट ट्रेडिङको मल भण्डार ४ महीनादेखि रित्तै
अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेसँगै ग्लोबल टेन्डरमार्फत मल आयातमा समस्या भएपछि सरकारी अनुदानको मल आयात र विक्रीको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनको मल भण्डार करीब ४ महीनादेखि रित्तो छ । टेन्डर गर्ने बेलाको मूल्यको तुलनामा मल किन्ने बेलाको मूल्य धेरै फरक परेपछि मल आयात गर्न समस्या भएको कर्पोरेशनका अधिकारी बताउँछन् । 

पछिल्लो समय रूस–युक्रेन तनावले मूल्यमा भएको अत्यधिक वृद्धिका कारण कर्पोरेशनले ग्लोबल टेन्डरमार्फत किन्न लागेको ७५ हजार मेटन मल किन्नै सकेको छैन । कर्पोरेशनले यसअघि ग्लोबल टेन्डर खोल्ने बेलामा ४ सय ५५ डलर रहेको युरिया मलको मूल्य बढेर अहिले ११ सय डलर पुगिसकेको छ ।

डीएपीको मूल्य ६ सय ५० डलरबाट १३ सय डलर पुगेको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिए । बेलैमा ग्लोबल टेन्डरमार्फत मल नआए जीटूजीबाट आयात गरिने मलकै भर पर्नुपर्ने अवस्था रहेको उनले बताए । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement