वैशाख २८, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू.२१ करोड ६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ३ दशमलव ५३ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू.२० करोड ३४ लाख नाफा कमाएको थियो ।
गत आवको तुलनमा चालू आवमा कम्पनीको आम्दानी भने १२ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमाससम्ममा रू. २४ करोड ८० लाख आम्दानी गरेको उक्त कम्पनीले चालू आवमा बढाएर रू. २७ करोड ९० लाख आम्दानी गरेको हो । चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको उक्त कम्पनीले जगेडामा रू. १ अर्ब ३ करोड सञ्चित गरेको छ ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको जीवन बीमा कोषमा रू. ४ अर्ब १८ करोडभन्दा बढी जम्मा भएको छ । जीवन बीमा कोष गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवमा ७६ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीको जीवन बीमा कोषमा रू. २ अर्ब ३७ करोड भन्दा बढी जम्मा भएको थियो । चालू आवमा कम्पनीले कुल रू.२ अर्ब ९९ करोड बीमाशुल्क आर्जन गरेको छ।
कम्पनीले अहिले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको स्वीकृती पाएपछि कम्पनीले रू.११२ प्रिमियम थप गरी प्रतिकित्ता रू. २१२ मा ६० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।