वैशाख २८, काठमाडौ । चालू आर्थिक वर्ष (आव) को नौ महीनामा कुल वस्तु निर्यात ६९ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार नौ महीनाको अवधिमा १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँको वस्तु निर्यात भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २० दशमलव २ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६ दशमलव ९ प्रतिशत र २५ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैंचा, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, तार, दन्त मञ्जन, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।
नौ महीनाको अवधिमा कुल वस्तु आयात ३२ प्रतिशतले वृद्धि भई १४ खर्ब ६६ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ दशमलव १ प्रतिशतले बढेको थियो । नौ महीनाको कुल व्यापार घाटा २८ दशमलव ५ प्रतिशतले वृद्धि भई १३ खर्ब ६ अर्ब ९ करोड पुगेको छ ।