ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नीति तथा कार्यक्रमको मस्यौदा अन्तिम चरणमा

जेठ ७ गते राष्ट्रपतिबाट संसद्मा प्रस्तुत हुने

२०७९ बैशाख, २८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं (अस) । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको मस्यौदालाई अन्तिम चरणमा पुर्‍याएको छ । बजेट घोषणा हुनुअगावै संसद्का दुवै सदनमा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार समयमै सदनमा पेश गर्ने गरी मस्यौदा बनाइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते संसद् अधिवेशन आह्वान गरिसक्नुभएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ७ गते संसद्मा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले बताए ।  उनका अनुसार सरकारको नीति तथा कार्यक्रममाथि छलफल र संशोधन ८ देखि ११ गतेसम्म हुनेछ । सरकारका नीति तथा कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बनाउने अभ्यास भएपनि यसपालि अर्थ मन्त्रालयले नै खाका कोरिरहेको छ । यसले यसै पनि बजेटको चटारोमा रहेको अर्थ थप दबाबमा परेको छ । ‘प्रधानमन्त्री कार्यालयको  आग्रहमा मस्यौदा लेखनका लागि अर्थको एउटा कोर टिम परिचालन भएको छ । सो टिमले नीति तथा कार्यक्रम तय गरी छिट्टै प्रधानमन्त्री कार्यालयलाई ड्राफ्ट पठाउनेछ,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने ।

जेठ ३ बाट शुरू हुने बजेट अधिवेशनका लागि सुरक्षा, स्वास्थ्य मापदण्डलगायतका भौतिक तयारी पूरा गरेको संसद् सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभाको पहिलो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेश गर्ने कार्यक्रम छ । जेठ ४ र ५ गते संसद्मा प्रिबजेट छलफल हुनेछ । त्यसपछि क्रमश: नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । र, प्रक्रिया पूरा गरेर जेठ १५ गते बजेट भाषण हुनेछ ।

एमालेको अवरोध रहला ?
गत भदौ २३ गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद्मा अवरोध गर्दै आएको छ । आफूले कारबाही गरेका माधव नेपालसहित १४ सांसदबारेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले नटाँसिदिएपछि क्रुद्ध एमालेले २३ भदौयता संसद्मा नाराबाजी गरिरहेको छ । तर, एमालेको नाराबाजीबीच सरकारले पेलेरै अमेरिकी आर्थिक सहायता सम्झौता एमसीसीसहितका केही विवादित विषय संसद्बाट पारित गराइसकेको छ ।

एमालेको लगातार अवरोध रहिरहँदा सरकारले पनि संसद्लाई बिजनेश दिन सकेको थिएन । सरकारले बिजनेश दिन नसकेपछि औपचारिकताका लागि मात्रै बस्दै आएको संसद् बैठकको हिउँदे सत्र अन्त्य गरिएको थियो । तर, अब सरकारले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएपछि यही जेठ ३ गतेका लागि संसद्को बजेट अधिवेशन आह्वान गरिएको छ । संसदमा अवरोध गर्दै आएको एमालेले बजेट अधिवेशन सञ्चालन गर्न दिने वा नदिनेबारे अहिलेसम्म कुनै निर्णय लिएको छैन ।  एमालेको संघीय संसद्का प्रमुख सचेतक विशाल भट्टराईले आगामी जेठ २ गते संसदीय दल बैठक बोलाइएको र उक्त बैठकमा त्यसबारे छलफल हुने बताए । भट्टराईले सरकारबाट संसद्मा आउने एजेन्डाका आधारमा सम्भावित निर्णय लिने पनि बताए ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement