ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

गाउँ फर्कनेको चापले अरनिको राजमार्गमा जाम

२०७९ बैशाख, २९  
वाग्मती प्रदेश
NA

काठमाडौं । शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्कनेको भीडका कारण अरनिको राजमार्ग अस्तव्यस्त बनेको छ । मतदानका लागि बुधवार बिहानैदेखि घर फर्कनेको चापका कारण राजमार्गमा जाम लागेको हो । बुधवारदेखि दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनको लर्को लागेको छ । अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सल्लाघारीदेखि काभ्रे धुलिखेलसम्मै घण्टौं सडक जाम भएको छ ।

बिहानैदेखि बस स्टेसनमा बस चढ्न प्रतीक्षामा बसेकाको घुइँचो देखिन्थ्यो । साना तथा ठूला गाडी रिजर्भ गरेर गाउँ फर्कने र सार्वजनिक यातायातमा गाउँ फर्कने सवारीसाधनको समेत एकै पटक चाप बढेपछि अरनिको राजमार्ग घण्टौं जाम भएको हो । महानगरीय प्रहरी वृत्त जगातीका अनुसार बुधवार बिहान ४ बजेदेखि नै भक्तपुर हुँदै पूर्वतर्फ जाने यातायातका साधनको चाप ह्वात्तै बढेको हो । बुधवार दिनभरि नै सडक जाम हुँदा ट्राफिक व्यवस्थापनमा समस्या परेको प्रहरीको भनाइ छ ।

धुलिखेल अस्पताल जान थिमिबाट बिहान ८ बजे बस चढेका यात्रु ११ बजे मात्रै पुगेका थिए । सो सडक खण्डमा दुई घण्टा जाममा परेको थिमि राधेराधेकी सन्तोषी खड्काले बताइन् ।

मोटरसाइकल, माइक्रोबस, सुमो र ठूला बस गरी बुधवार मात्रै एक हजारभन्दा बढी यातायातका साधन पूर्वतर्फ गएको प्रहरीको भनाइ छ । काभ्रेबाट भक्तपुरतर्फ फर्किंदा समस्या नभए पनि काभ्रेतर्फ जाने सडक जाम भएपछि च्यामासिंह, ताथली नाला हुँदै बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको छ ।  रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement