ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तिंकर उक्लदै खलंगावासी

२०७९ बैशाख, २९  
सुदूरपश्चिम प्रदेश
NA

दार्चुला । ब्याँस गाउँपालिका–१ खलंगाका स्थानीय आफ्ना पशुचौपायासहित गाउँ पुग्न थालेका छन् । गाउँमा खेतीपाती भिœयाउन र नयाँ बाली लगाउन उनीहरू तिंकर गाउँ पुगेका हुन् । ब्याँसी सौका समुदाय गत मङ्सिरमा ढोकामा ताला लगाएर सदरमुकाम झरेका थिए । उनीहरूको घरको ताला ६ महीनापछि खुल्न थालेको हो । ‘पाँच परिवार तिंकर पुगिसकेका छन्,’ स्थानीय दानसिंह तिंकरीले भने, ‘३५ परिवार खलंगाबाट मंगलवार हिँडेका छन्, उनीहरू बाटोमा छन् ।’ सदरमुकाम खलंगाबाट पाँचदेखि ६ दिनमा तिंकर गाउँ पुगिन्छ ।

भारतीय प्रशासनको अनुमति लिएर स्थानीय हिमाली गाउँतर्फ उक्लिएका हुन् । खलंगाबाट हिँडेर पहिलो दिनमा दोबाट, दोस्रो दिन सानो जाङ्ला, तेस्रो दिन गर्वाधार, चौथो दिन बुदी, पाँचौं दिन छाङरु र छैटौं दिन तिंकर पुगिन्छ । पशुचौपायासहित कुञ्चा सर्दा ६ दिन लाग्छ । तर, हाल स्थानीय भने पाँच/६ घण्टामै गाडीमा गाउँ पुग्ने गर्छन् ।

भारतीय प्रशासनले अनुमति दिन ढिलाइ गर्दा यो पटक बसाइँसराइ केही ढिला भएको स्थानीय बताउँछन् । गाउँ फर्किएपछि तरकारी बाली भिœयाउने काम हुन्छ । साथै जेठमा यार्सागुम्बा संकलनको कामसमेत हुने भएपछि उनीहरू गाउँ फर्किएका हुन् ।

तिंकर गाउँ चीनको सीमा नजिकैको गाउँ हो । तिंकर गाउँभन्दा आधा घण्टा माथि नेपाल प्रहरी बस्छ । छायालेकबाट चारदेखि पाँच घण्टाको दूरीमा नेपाल–चीन १ नम्बर सीमा स्तम्भ छ ।

स्थानीय ६ महीना सदरमुकाम खलंगा र ६ महीना छाङरु/तिंकर बस्छन् । तर, तिंकरको छायालेकमा बस्दै आएको नेपाल प्रहरी भने अझै सदरमुकाम खलंगामै छ । यसअघि यहाँ बस्ने नेपाल प्रहरी पनि वर्षमा ६ महीना मात्रै छायालेक बस्ने गर्दै आएको थियो । प्रहरी टोली तिंकरतर्फ जाने तयारीमा रहेको बताइएको छ । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement