ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नि:शुल्क खाना र कोठाका कारण समस्या आएको होटल व्यवसायीको गुनासो

२०७९ बैशाख, २९  
गण्डकी प्रदेश
NA

पोखरा । पर्यटकीय क्षेत्र म्याग्दी घोरेपानीका महिला होटल व्यवसायीले ‘गाइड र पोर्टर’हरूलाई नि:शुल्क खाना र कोठा दिँदा व्यवसायमा समस्या आएको गुनासो गरेका छन् । पर्यटक लिएर आउने ‘गाइड र पोर्टर’लाई नि:शुल्क कोठा र खाना दिनुपर्ने बाध्यताले व्यवसायमा चुनौती थपिएको गुनासो व्यवसायीले गरेका हुन् ।

‘हिजो केही व्यवसायीले पर्यटक ल्याउँछन् भन्दै नि:शुल्क खान र बस्न दिएकाले त्यही कल्चर रहँदै आयो,’ घोरेपानी होटल व्यवसायी संघकी अध्यक्ष मीना पुनले भनिन्, ‘आज त्यो कल्चरले हामीलाई समस्यामा पार्दै लगेको छ ।’

मौसमअनुसार हुने व्यवसायमा अनगिन्ती समस्या रहेको भन्दै उनले विदेशी पर्यटकले नि:शुल्क कोठा माग्ने गरेको गुनासो गरिन् । ‘म २० वर्ष बेलायत बसेर आएँ, त्यहाँ प्रत्येक कुरामा पैसा तिर्नुपर्छ, तर त्यहाँबाट आएका पर्यटकले  नै यहाँ सेवाहरू नि:शुल्क खोज्छन् ।

नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश सरकारले व्यवसायीको समस्याका विषयमा केन्द्रित कार्यक्रम घोरेपानीमा गरेको थियो । सोही कार्यक्रममा उनले होटल व्यवसायीका समस्याबारे अवगत गराइन् ।

अर्का होटल व्यवसायी जुली ठकुरी पुनले घोरेपानीलाई पर्यटकको उत्कृष्ट गन्तव्य बनाउन आफूहरूले प्रदान गर्ने होटलका सेवा–सुविधामा निकै ध्यान दिएको बताइन् । सहज यातायात नहुने पदमार्ग क्षेत्र भएकाले अधिकांश सामान भरिया र खच्चडबाट ढुवानी गर्नुपर्दा महँगो पर्ने उनको भनाइ छ । ढुवानी खर्चको तुलनामा आफूहरूले निकै सहुलियतमा खाना खुवाएको उनले बताइन् । आन्तरिक पर्यटक र विद्यार्थीलाई थप सहुलियत दिने गरिएको उनको भनाइ छ ।

उक्त क्षेत्रमा व्यवसाय गर्दै आएका अन्य महिला सहभागीले पछिल्लो समय व्यवसाय सञ्चालनमा निकै कठिनाइ भइरहेको र लैंगिक हिसाबले पनि महिला व्यवसायीलाई अप्ठ्यारो परेको गुनासो गरेका थिए । ओटेफका अध्यक्ष पार्वती पाण्डेले सुगम र दुर्गम क्षेत्रमा महिला व्यवसायीका कतिपय समस्या साझा रहेको भन्दै महिला सशक्तीकरणका लागि हातेमालो गरेर अघि बढ्न आवश्यक रहेको बताइन् ।

संस्थाका सल्लाहकार दुर्गा ढकालले व्यवसाय र व्यवसायी महिलाले भोगेका समस्यालाई नजिकबाट बुझ्ने अवसर मिलेको बताइन् । आगामी दिनमा पर्यटनमैत्री व्यवसायमा जोड दिएर यस क्षेत्रलाई उत्कृष्ट गन्तव्य बनाउन सहकार्य र समन्वय गरिनुपर्ने उनको भनाइ थियो । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement