ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

गरीबी निवारणलाई गिज्याउने रोल्पाका यी उदाहरण

२०७९ बैशाख, २९  
लुम्बिनी प्रदेश
NA

रोल्पा । रोल्पा नगरपालिका–२ रेउघाका ६२ वर्षीय गोपाल सुनार, ५९ वर्षीया आसार सुनार र ५७ वर्षीय प्रसाद सुनार बोल्न सक्दैनन् । जन्मजात बोल्न नसक्ने उनीहरू नाताले दाजु–बहिनी हुन् । रोल्पा जिल्ला अस्पताल नजिकै सरकारले बनाइदिएको घरमा बस्छन् ।

गरीबी निवारण र समृद्धिको नारा लिएर नेता कार्यकर्ता उनीहरूको घर हुँदै चुनाव प्रचारका लागि ओहोरदोहोर गरिरहन्छन् । तर नेता कार्यकर्ताको कसैको दृष्टिमा पनि उनीहरू पर्दैनन् । हातको इसाराले कुराकानी गर्ने उनीहरू  खानाको अभावमा कैयौं रात त भोकै सुत्न बाध्य भएको गुनासो गर्छन् ।

घरमा न लत्ताकपडा छन्, न त अन्नपात नै । मागेर पेट पाल्ने गरेको गुनासो तीन दाजु बहिनीले हातको इसाराले नै गरे । वृद्धावस्थाका कारण राम्रोसँग आँखा देख्दैनन् । तर, हातमा दाम्ला, डोरी आदि बाट्ने शीप त छ । जीविका धान्न पर्याप्त नपुग्ने उनीहरूको भनाइ छ । जाडो होस् या गर्मी एक सरो कपडामा रहन्छ उनीहरू ।

खुट्टाले अहिलेसम्म जुत्ता चप्पल महसूस गर्न पाएका छैनन् । चाँही हिउँद होस् वा वर्षा खाली खट्टा हिँड्नुको विकल्प छैन । दाजु गोपाल र भाइप्रसादले गाउँलेको दाम्लो र डोरी बुन्छन् । दाम्लो र डोरी बुनेबापत केही माना अन्न र सय/पचास रुपैयाँ पाउँछन् । बाँच्ने आधार यही हो । तर, पर्याप्त नपुगेको उनीहरूको गुनासो छ ।

वडा कार्यालयले गोपाललाई ज्येष्ठ दलित भत्ताबापत मासिक १ हजार रुपैयाँ र प्रसादलाई मासिक ६०० रुपैयाँ उपलब्ध गराउँदै आएको छ । आसारालाई भने विवाह गरेर अन्यत्र गएको र पछि फर्केर आएको भनेर भत्ता उपलब्ध गराउने गरिएको छैन ।

रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँ पारिवाङकी लालसरी घर्तीमगर बिरामी भएर थला परेको आठ वर्ष भयो । नौ वर्षको उमेरमै दुवै खुट्टा चल्न छाडेपछि कक्षा ३ मा पढ्दै गरेकी उनको पढाइमा विश्राम लाग्यो । अहिले उनी १७ वर्षकी भइन् । आमा भीमकुमारी घर्तीमगरको मृत्यु भएको चार वर्ष भयो । बुबा पनि अपांग छन् । बुबाको दुवै खुट्टाले राम्रोसँग काम गर्दैनन् । घरमा दुई बहिनीहरू १४ वर्षकी विपना र नौ वर्षकी दीपा तथा हजुरआमा  ८१ वर्षीय नौला घर्तीमगर छन् ।

दुवै खुट्टा नचल्ने भएकी उनको अचेल कम्मरमुनिको भाग पनि चल्दैन । उनलाई आमा हुँदा आमाले र आमाको मृत्युपछि सानी आमाले उपचारका लागि दाङ, काठमाडौं र काभ्रे पुर्‍याए । तर घरको आर्थिक अवस्था कमजोर भएकाले राम्रो उपचार नपाउँदा निको भएन ।

अस्पतालको चर्को शुल्कका कारण सहयोग उठाइएको थियो । उपचारकै लागि ऋणदान पनि नगरेकी होइनन् । तर, उपचारका लागि अभाव खड्किइरह्यो । उपचारकै लागि ऋण बढ्दै गएपछि सात लाख रुपैयाँमा खेत पनि बेच्नुपर्‍यो ।

अहिले घर अगाडि ३ महीना पनि खान नपुग्ने पाखो बारी मात्रै सम्पत्ति छ उनको परिवारसँग । साँझ बिहान हातमुख जोर्न समस्या छ । अहिलेसम्म सानी आमाले चामल, मकै, दालको जोहो गरिदिएकी छिन् । अहिलेसम्म जसोतसो साँझ बिहान खाने जोहो गर्दै आएको र आफ्नै परिवार पाल्न हम्मेहम्मे परिरहेको सानीआमा विर्सना घर्तीमगरले बताइन् ।

रोल्पा नगरपालिका र माडी गाउँपालिकाका यी ४ उदाहरण प्रतिनिधि मात्रै हुन् । यस्तै गरीबीले पिरोलिरहेका उदाहरण जिल्लामा कैयौं छन् । नेपाल गरीबी लघुक्षेत्र अनुमानअनुसार रोल्पामा करीब आधा जनसंख्या गरीबीको रेखामुनि रहेको छ ।

जिल्लाको यस्तो चरम गरीबी यहाँका राजनीतिक दल तथा नेताको प्राथमिकतामा परेको छैन । चुनावका लागि तयार गरिने घोषणापत्रमा गरीबी निवारण प्राथमिकतामा नपरेका होइनन् । तर, व्यवहारमा नदेखिएको स्थानीयको गुनासो छ । रोल्पा नगरपालिका–२ का स्थानीय भीमसेन घर्तीमगर घोषणापत्रमै समेत गरीबी निवारणका नारा नअट्ने बताउँछन् । ‘दलहरूका घोषणा पत्रमा पूर्वाधार लगायतका क्षेत्र पर्छन्,’ उनी भन्छन्, ‘यिनीहरूको घोषणा पत्रमा गरीबी निवारणका कुरा अटाउँदैनन् ।’

सामाजिक–आर्थिक तथा अन्य दृष्टिले पछि परेको रोल्पा समग्र विकास सूचकांकमा नेपालका ६८औं जिल्लामा पर्छ । यहाँका राजनीतिक दल र स्थानीय सरकारका प्राथमिकतामा  अग्ला डाँडामा भ्युटावर निर्माण परेको उदाहरण छन् । गत ५ वर्षमा मात्रै जिल्लामा ५ ओटा भ्यू टावर निर्माण गरिएका छन् । हाल जिल्लामा भ्युटावरको संख्या ५ पुगिसकेको छ ।

रोल्पा नगरपालिका–३ सातदोबाटोस्थित चुच्चे डाँडोमा भ्युटावर बनेको छ । ११२ फिट अग्लो सो टावरको लागत ६ करोड रुपैयाँ भन्दा बढी हो । थवाङ  गाउँपालिकाले जलजलामा २५ लाख रुपैयाँ लागतमा भ्युटावर निर्माण गरेको छ ।

अघिल्लो आर्थिक वर्षका लागि त्रिवेणी गाउँपालिकाले पनि लुम्बिनी प्रदेश सरकारको २५ लाख रुपैयाँ लगानीमा टिलामा भ्युटावर निर्माण आरम्भ गरेको छ । होलेरी एकीकृत पर्यटन विकासअन्तर्गत गढीलेखमा भ्युटावर निर्माण गरिएको छ । तत्कालीन जिल्ला विकास समिति रोल्पामार्फत आव २०७०/७१ मा २० लाख रुपैयाँ निकासा गरी उक्त भ्युटावर निर्माण गरिएको हो ।

चरम गरीबी रहेको जिल्लाका स्थानीय गरीबी निवारणको आश्वासन पाएरै तत्कालीन सशस्त्र द्वन्द्वमा होमिएका थिए । सशस्त्र द्वन्द्वको उपलब्धि गणतन्त्र आयो । संविधान बन्यो । तर, गरीबी हटेन । स्थानीयले उपचारको अभावमा तड्पिनुपर्ने स्थिति छ । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement