ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या

२०७९ बैशाख, २९  
मधेश प्रदेश
NA

सर्लाही । सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको अभाव हुन थालेको छ । जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा विगतका वर्षमा झैं यस वर्षको सुक्खायाममा पनि खानेपानीको समस्या भएको हो ।

उत्तरी चुरे क्षेत्रका धारा, इनार, कुवालगायतका खानेपानीका स्रोत सुक्न थालेपछि सो क्षेत्रका बस्तीमा खानेपानीको अभाव शुरू भएको ईश्वरपुर नगरपालिका–१२ का बासिन्दा रामबाबु थिङले गुनासो गरे । धारामा पानी आउन छाडेको धेरै भएको र आफूहरूले खोला तथा बगरका कुवाबाट पानी ल्याउने गरेकोमा अहिले ती कुवा पनि सुक्न थालेको उनले बताए ।

ईश्वरपुर–१२ को घारी बथान, गुइडुङ, शिर फुलजोर, शिर कालिञ्जोर तथा लालबन्दी नगरपालिका–१५ का धुसेनी, देउराली, तिनघरे, वडा नं १२, १३ र १४ का अधिकांश बस्तीका साथै हरिवन नगरपालिका–१ को चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या देखिएको छ ।   

जिल्लाको कर्णाली भनेर चिनिने यी स्थानका बस्तीमा अन्य समयमा पनि खानेपानीको दिगो आपूर्ति हुँदैन । सुक्खा मौसम शुरू भएपछि खानेपानीको थप समस्या देखिएको ईश्वरपुर–१२ की जानकी माया विकले बताइन् । जिल्लाको चुरे क्षेत्रका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुनदेखि नै खानेपानीको समस्या शुरू हुने गर्दछ । स्थानीय सरकारलाई यो विषयमा जानकारी भएको भए पनि समस्या समाधानमा चासो नदिएको ईश्वरपुर–१२ का जीवन तामाङले बताए । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement