ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

वीरगञ्जमा चुस्तदुरुस्त शान्ति सुरक्षा व्यवस्था

२०७९ बैशाख, २९  
मधेश प्रदेश
NA

वीरगञ्ज । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बारा जिल्लामा शान्ति सुरक्षाको व्यवस्था चुस्तदुरुस्त पारिएको स्थानीय प्रशासनले जानकारी दिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी साथै आवश्यकता अनुसार नेपाली सेनालाई परिचालन गरी सुरक्षा व्यवस्थापन मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।     

मतदानस्थलको सुरक्षामा थप सुरक्षाकर्मीको आवश्यकता परे तत्कालै थप सुरक्षा सुरक्षाकर्मी उक्त स्थानमा पुग्नसक्ने गरी मतदानस्थलमा सुरक्षाको व्यवस्थापन मिलाइएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए । जिल्लाभर कूल ३०३ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।     

असहाय, अशक्त, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिका लागि मतदान गर्न उचित व्यवस्थापन गर्ने जिल्ला निर्वाचन कार्यालय, बाराले जानकारी दिएको छ । यसैगरी, निर्वाचनलाई भयरहित, शान्त र सुरक्षित रूपमा सम्पन्न गर्न तयारी भएको बताइएको छ । मतदानपछि मत गणनास्थललाई सुरक्षित राख्न तारजालीको प्रयोग गरी आवश्यकता अनुसार सिसी टिभीसमेत जडान गरिएको हो ।     

बारामा छ वटा राष्ट्रिय दल र २९ वटा साना दल गरी ३५ वटा साना/ठूला दलका प्रतिनिधिसहित स्वतन्त्र रुपमा उम्मेदवार स्थानीय चुनावमा प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य साना दलका उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका जिल्ला निर्वाचन कार्यालय बाराले जानकारी दिएको छ ।   
 
जिल्ला निर्वाचन कार्यालय अनुसार बारामा पुरुष दुई लाख ३१ हजार ८२६, महिला एक लाख ९१ हजार ४९० र तेस्रो लिङ्गी ११ जना गरी कुल चार लाख २३ हजार ३२७ जना मतदाता रहेका  छन् ।     
    
पाँच सयमध्ये ७७ मात्र हतियार बुझाइयो     
पर्सामा स्थानीय तहको निर्वाचन लक्षित जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिइएका सबै हातहतियार बुझाउन प्रशासन कार्यालयको आग्रह गरे पनि अधिकांशले हातहतियार बुझाएका छैनन् ।     

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी ओमप्रकाश खनालका अनुसार जिल्लामा इजाजत लिएका करीब ५०० हातहतियारमध्ये विभिन्न ठाउँबाट हालसम्म ७७ वटा हात हतियार मात्रै बुझाइएकोे हो । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार इजाजत लिइएकामध्ये करिब ५०० को हाराहारीमा हातहातियार नवीकरण हुँदै आएको तथ्याङ्क छ । इजाजत लिएका ती हतियार प्राय: सबै एक नाले र दुईनाले बाह्र बोरका रहेका छन् । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement