ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

भारतमा रहेका नेपाली मतदानका लागि फर्किए

२०७९ बैशाख, २९  
सुदूरपश्चिम प्रदेश
Image Not Found

टीकापुर । शुक्रवार हुन लागेको स्थानीय तह निर्वाचनका लागि मतदान गर्न भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । स्थानीय तहमा आफ्नो जनप्रतिनिधि छनोटका लागि मताधिकार प्रयोग गर्न रोजगारीका सिलसिलामा भारतमा रहेका नेपालीहरू स्वदेश फर्कन थालेका हुन् ।

आफ्नो पालिकाको नेतृत्व छान्न स्वदेश आउनु पर्‍यो भनेर  छिमेकीले खबर गरेपछि आफ्नो सात जनाको परिवार स्वदेश फर्किएको जानकी गाउँपालिकाका विकास धामीले बताए ।  ‘आफ्नो मताधिकार प्रयोग गर्न भारतमा रहेका अन्य नेपाली पनि घर फर्केका छन्, हामी १५ दिनको बिदा मिलाएर आएका हौं,’ उनले भने, ‘निर्वाचनमा छिमेकी उठेका छन् । उनलाई मतदान गर्न आउनुपर्‍यो भनी बोलाएपछि हामी आयौं ।’

स्वदेश फर्कनेहरू मतदान गर्ने अधिकार प्रयोग गर्न र सक्षम नेतृत्व चयनका लागि आएको बताउँछन् । कैलालीको जानकी गाउँपालिकाकी कमला न्यौपाने दम्पती पनि स्थानीय तहको निर्वाचनमा मतदान गर्नकै लागि स्वदेश फर्किएका छन् ।

न्यौपाने मतदान सकिएपछि भारत फर्कने बताउँछिन् । ‘हामीले निर्वाचन हुँदै छ भन्ने कुरा समाचारमा थाहा पायौं,’ उनले भनिन्, ‘आफन्तसँग पनि फोनमा कुराकानी भइरहन्थ्यो ।’

मतदान गर्नु नागरिकको अधिकार भएकाले असल नेतृत्व छनोट गर्ने अधिकार सुनिश्चित गर्नका लागि प्रवासमा रहेका नेपाली धमाधम स्वदेश फर्किन थालेका हुन् ।

भारतको महाराष्ट्रबाट लम्की चुहा प्रतापपुरका सुरेश विकको ९ जनाको परिवार पनि स्वदेश फर्किएको छ । ‘हामी दाइभाइ र हाम्रा परिवार गरी नौ जना छौं, नौ जनाले नै मतदान गर्न पाउँछौं,’ विकले भने, ‘आफन्तसँग भेटघाट पनि हुन्छ । निर्वाचनमा पनि सहभागी हुन्छौं ।’

वैशाख महिनायता भारतबाट फर्कने ४०० जना भन्दा बढीले सीमामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराएका छन् । पछिल्लो एक सातायता सङ्ख्या अझै बढेको छ । नेपाल फर्कने अधिकांश व्यक्ति मतदान गर्नकै लागि आउने गरेको टीकापुर ९ स्थित सीमामा रहेको स्वास्थ्य सहायता कक्षमा कार्यरत स्वास्थ्यकर्मी मकेन्द्र रोकायाले बताए ।

‘हिजोआज फर्कने अधिकांश मतदान गर्नकै लागि आएको भन्छन्, एक सातादेखि सङ्ख्या बढिरहेको छ,’ उनले भने, ‘चालू आर्थिक वर्षको अहिलेसम्म चार हजार ६९८ जना भारतबाट फर्कनेले सेवा लिएका छन् । हेल्थ डेस्कमा स्वास्थ्यमा समस्या भएकाहरूले सेवा लिन्छन् ।’ कैलालीमा निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालीम दिई मतदान सामग्री हस्तान्तरण गरिएको बताए । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement