ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

घर खर्च चलाउन साना व्यवसायमा आकर्षण

२०७९ बैशाख, २९  
सुदूरपश्चिम प्रदेश
NA

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३० वर्षीय हरेन्द्र सार्कीले साइकल मर्मत गर्ने पसल सञ्चालन गरेका छन् । परिवारको खर्च धान्ने मेसो त्यही साइकल पसल हो । वन समिति बजारमा सार्कीले साइकल मर्मत गर्ने पसल सञ्चालन गरिरहेका छन् । पुख्र्यौली पेसा छाला जुत्ताको काम रहे पनि त्यसबाट परिवारको खर्च धान्नै मुस्किल भएपछि उनले साइकल मर्मत गर्ने पसल सञ्चालन गरेका हुन् ।

साइकलका पाटपुर्जासँगै पञ्चर बनाउने, लहर निकाल्ने, तिल्ली राख्ने, गोली, कटौरी राख्ने कार्यसँगै नयाँ टायर ट्युब राख्ने काम उनले गर्छन् । ‘यसबाट १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म मासिक आम्दानी हुने गरेको छ,’ उनले भने ।

दातृ निकायले अनुदानमा कम्प्रेसर मेसिन उपलब्ध गराएपछि साइकलसँगै उनले मोटरसाइकलको पञ्चरसमेत जोड्ने काम थालेका छन् । उनले भने, ‘६ जनाको परिवारको खर्च धान्न सहयोग पुगेको छ ।’

२० हजार रुपैयाँ लगानीबाट सञ्चालन गरेको पसलबाट शुरूमा खासै आम्दानी नभएको उनको भनाइ छ । हाल लगानी बढाएर २ लाख रुपैयाँ पुगेसँगै घर खर्च चलाउन सहयोग पुगिरहेको उनले बताए ।

साइकल पसल चलाउनुअघि सार्कीले अरूको खेत अधिँयामा लिएर परिवारका लागि अन्न जोहो गर्दै आएका थिए । पसल चल्न थालेपछि पसलबाटै घरखर्च चल्न थालेको उनले बताए  ‘थोरै पूँजीको काम गरे पनि निरन्तर लागिरहे परिवारको खर्च चलाउन अप्ठेरो नहुने रहेछ,’ उनले भने, ‘अरूको भन्दा आफ्नै काम गरे सहज रूपमा जीविका चलाउन सकिँदो रहेछ ।’

हरेन्द्र जस्तै वन समिति बजारमै छाला जुत्ताको कार्य गर्दै आएका कसरौलका मन्दिर सार्कीले दैनिक १ हजारदेखि २ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । उनले नयाँ जुत्ता बनाउने, पुराना जुत्ताचप्पल सिउने लगायत काम थालेका हुन् । सार्कीले ५ छोरी र ३ छोराको विवाहको खर्च समेत यसैबाट धानेको बताए । स्थानीय तहमा ५ वर्ष सरकार हाँकेका जनप्रतिनिधिले हालसम्म गरिखाने वर्गका लागि कुनै पनि योजना नल्याएकोमा असन्तुष्ट छन् उनी ।

‘अहिले चुनावका लागि उम्मेदवारले प्रचारप्रसारको काम गरिरहेका छन्,’ उनले भने, ‘हाम्रा दु:खलाई सम्झेर उत्थानका योजना ल्याई काम गर्ने भए मत माग्न आउनोस् । नभए मत नै नमाग्नोस् भनेको छु ।’ रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement