ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मतदान केन्द्रको जिम्मा महिलालाई

२०७९ बैशाख, २९  
लुम्बिनी प्रदेश
NA

कावासोती । नवलपरासी बर्दघाट सुस्तापूर्वको एउटा मतदान केन्द्रमा महिला कर्मचारीमात्रै खटाइएको छ । मतदान केन्द्रमा मतदान अधिकृतसहित सबै कर्मचारी महिलामात्रै खटाइएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्माले बताए । शर्माका अनुसार कावासोती नगरपालिका–३ स्थित जीवनज्योति माविमा रहेको मतदान केन्द्र (ख)मा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै कर्मचारी महिलामात्रै खटाइएको हो ।

उक्त मतदान केन्द्रमा खटाइएका पाँच महिला कर्मचारीमा एक जना घरेलु तथा साना उद्योग कार्यालयबाट र चार जना जिल्ला अदालत नवलपुरबाट रहेका  छन् । मतदान अधिकृत शान्ति गुरुङ, सहायक मतदान अधिकृत राधिका सापकोटा (घरेलु तथा साना उद्योग कार्यालय नवलपुर) सहायक कर्मचारी रचना ढुङ्गाना, सहायक कर्मचारी सुस्मिता पङ्गेनी र कार्यालय सहयोगी जीवकला केसी पराजुली गरेर पाँच जना सबै महिला कर्मचारीमात्रै खटाइएको शर्माले जानकारी दिए ।

निर्वाचन केन्द्र महिलामैत्री र नमूना बनाउन सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको उनको भनाइ छ । विगतमा भएका निर्वाचनमा समेत नमूना कार्यअन्तर्गत महिलामैत्री मतदान केन्द्र हुने गरेका थिए । गत निर्वाचनमा शिव मावि कावासोती दुईमा महिला कर्मचारीमात्रै खटाइएको थियो । नवलपुरमा स्थानीय तह निर्वाचनका लागि ११३ मतदानस्थल र २९९ वटा मतदान केन्द्र रहेका छन् ।

नवलपरासीपूर्व नवलपुरका सबै मतदानस्थलमा मतपत्र पुगेको छ । स्थानीय तह निर्वाचनका लागि सबै मतदानस्थलमा मतपत्रलगायत आवश्यक सामग्री पुगेको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख शर्माले बताए । जिल्लामा रहेका ११३ मतदानस्थलका २९९ मतदान केन्द्रमा आवश्यक पर्ने मतपत्र, मतपेटिकालगायत सामग्री पुगेको उनले बताए । नवलपुरको पहाडी क्षेत्र तथा यातायातका हिसाबले विकट मानिने मतदानस्थलमा समेत मंगलवार रातिसम्ममा मतपत्र, मतपेटिका पुगेको शर्माले बताए । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement