ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पर्यटनमा पर्वतारोहणको योगदान

२०७९ बैशाख, २९  
लेख | दृष्टिकोण
Image Not Found

नेपालमा हाल पर्यटन र पर्वतारोहणको मुख्य सिजन छ । त्यसैले नेपालको हिमाली क्षेत्रमा पदयात्रा गर्न जाने पदयात्री र पर्वतारोहण गर्न जाने पर्वतारोहीहरूको भीड छ । हुन त नेपालको समग्र राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदान कुल अंशको लगभग ४ प्रतिशत मात्रै रहेको मानिन्छ ।

गतवर्ष कोरोना महामारीबीच पनि नेपाल सरकारलाई नेपालको पर्वतारोहण क्षेत्रबाट रोयल्टीबापत मात्रै ७१ करोड ४८ लाख बराबर नेपाली रुपैयाँ प्राप्त भएको थियो । यसरी हेर्दा पर्यटनभित्र पनि राजस्वको मुख्य स्रोत पर्वतारोहण पर्यटनलाई लिन सकिन्छ । अर्थात् नेपालको समग्र पर्यटन क्षेत्रमा पर्वतारोहण पर्यटनको मुख्य योगदान रहेको देखिन्छ । त्यसमा पनि गएको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न गएका पर्वतारोहीबाट मात्रै नेपाल सरकारले ६६ करोड १३ लाख नेपाली रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको थियो । त्यस्तै यो वर्ष पनि समग्र नेपालको पर्वतारोहणबाट नेपाल सरकारले विभिन्न हिमाल आरोहण गर्न अनुमति दिएबापत ४७ करोड बराबर आम्दानी गर्‍यो । सगरमाथा हिमाल आरोेहण गर्न आएका विदेशी पर्वतारोही तथा नेपाली पर्वतारोहीबाट मात्रै ३९ करोड ५५ लाख नेपाली रुपैयाँ बराबरको कमाइ गरेको छ ।

हुन पनि गतवर्ष कोरोना महामारीको संकट बाँकी नै भएको अवस्थामा पनि हिउँद र वसन्त याम (दुवै सिजन) मा विभिन्न देशका पर्वतारोही दलका सदस्यले नेपालमा रहेको ८ हजार ८ सय ४८ दशमलव ८६ मीटर अग्लो सगरमाथा अर्थात् चोमोलुङमा लगायत अन्य १६ ओटा हिमाल चढ्न आएका थिए । त्यसो त गतवर्षको पर्वतारोहणको सिजनको शुरू ताका भारतको गुजरात, मुम्बईलगायत राज्यमा ‘ताई ती/ताई तु’ नामक समुद्री आँधी, भारतकै पश्चिम बंगाल र बंगलादेशलगायत क्षेत्रमा आएको ‘यास/यस’ नामक समुद्री आँधीका कारण हिमालय क्षेत्रमा अचानक मौसममा नराम्रोसँग परिवर्तन आयो । हिमालय क्षेत्रमा अचानक चलेको हावाहुरी, हुन्डरी, वर्षा र हिउँ पर्नाका कारण गतवर्ष धेरै दिनसम्म आरोहण नै रोकियो ।

समग्रमा विश्वका ती ८ हजार मीटरभन्दा माथिका १४ ओटा हिमालमध्ये आठ ओटा (६० प्रतिशत) नेपालमा हुनु हाम्रा लागि गौरवको कुरो हो । १४ अग्ला हिम चुचुराहरू सबै नै एशिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व फैलिएको छ । त्यसमध्ये एक तिहाइ भाग नेपालको पश्चिमबाट पूर्व भएर जान्छ । हिमालय पर्वतमालाको एक तिहाइ भागमै विश्वका अग्ला हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको ८ हजार मीटरमध्ये कम उचाइको हिमाल सिसापाङ्मा (उचाइ ८,०१३ मीटर भएको) सम्म रहेका छन् । विश्वकै अग्लो हिम चुचुरो सगरमाथा (८ हजार ८ सय ४८ दशमलव ८६ ) हो भने हो । उक्त हिमाल सन् १९५३ मे २९ मा न्यूजील्यान्डका सर एडमन्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक चढेका थिए ।

त्यस्तै, विश्वको दोस्रो अग्लो हिमाल काराकोरम–२ (के–टु/काराकोरम–२) हो । यो हिमालको उचाइ ८ हजार ६ सय ११ मीटर हो । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालियन आरोहीद्वय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक सफलतापूर्वक चढेका थिए । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा हो । यो नेपाल पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम तथा दार्जिलिङको सीमामा अवस्थित छ । यसको उचाइ ८ हजार ५ सय ८६ मीटर हो । यो हिमाल बेलायतका पर्वतारोहीहरू जर्ज ब्यान्ड र जो ब्राउनले पहिलोपटक सन् १९५५ मे २५ मा चढेका थिए । विश्वको चौथो अग्लो हिमाल ल्होत्से/चे हो । यसको उचाइ ८ हजार ५ सय १६ मीटर हो । यो हिमालको प्रथम आरोहण सन् १९५६, मे १८ मा भएको थियो । स्वीट्जरल्यान्डका पर्वतारोहीहरू फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलोपटक आरोहण गरेका थिए ।

त्यस्तै विश्वको पाँचौं अग्लो हिमाल मकालु हो । यसको उचाइ ८ हजार ४ सय ६३ मीटर रहेको छ भने, जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्स लगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बुलगायतको टोलीले नै सन् १९५५ मे १५ मा चढेका थिए । विश्वको छैटौं अग्लो हिमाल चो–ओयु हो । यसको उचाइ ८ हजार २ सय १ मीटर रहेको छ । सन् १९८४ अक्टोम्बर १९ मा अस्ट्रियन नागरिकद्वय हर्बट टिची र सेप जेक्लर अन र नेपाली नागरिक दावा (लामा) शेर्पाले आरोहण गरेका थिए ।

विश्वको सातौं अग्लो हिमाल चाहिँ धवलागिरि हो । यसको उचाइ ८ हजार १ सय ६७ मीटर रहेको छ । सन् १९६० को १३ मे मा स्वीट्जरल्यान्डका पर्वतारोही कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै विश्वको आठौं अग्लो हिमाल मनास्लु हो । यसको उचाइ ८ हजार १ सय ६३ मीटर हो । मनास्लु हिमालको पहिलो आरोहण सन् १९५६, मे ९ मा जापानका पर्वतारोहीत्रय तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । विश्वको १० औं अग्लो हिमाल चाहिँ अन्नपूर्ण प्रथम हो । यो हिमालको उचाइ ८ हजार ९१ मीटर रहेको छ । समुद्री सतहबाट नाप्दा ८ हजार मीटरभन्दा माथि रहेको भन्ने प्रमाणित भएपछि पहिलोपटक मानव पाइला राख्न सफल भएको थियो । उक्त हिमाल सन् १९५० जुन ३ मा फ्रेन्च पर्वतारोही माउरिस हर्जोगले आरोहण गर्न सफल भएका थिए । यसरी नेपालका हिमालहरूले पर्यटक आकर्षण गरेका छन् । हिमाल आरोहणका लागि आउने पर्यटकहरूबाट नेपालको पर्यटन व्यवसायले राम्रो लाभ लिएको छ । यसलाई अझै व्यवस्थित गर्न आवश्यक छ ।  

लेखक पर्यटनकर्मी हुन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement