वैशाख २९, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म अर्थात् ९ महीनामा रू. १७ करोड ९४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ५ दशमलव ४९ प्रतिशतले वृद्धि भएको हो ।
गत आवमा कम्पनीले रू. १७ करोड १ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी १४ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा रू. २८ करोड ९१ लाख आम्दानी गरेको उक्त कम्पनीले चालू आवमा वृद्धि भएर रू. ३३ करोड १६ लाख आम्दानी गरेको छ । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २४ करोड रहेको छ । कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू. ४३ करोड १३ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको बीमा कोषमा रू. ६५ करोड ८३ लाख जम्मा भएको छ ।
त्यसैगरी कम्पनीको बीमाशुल्क आर्जन गत आवको तुलनामा चालू आवमा २१ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कुल रू. ९६ करोड ८४ लाख बीमाशुल्क आर्जन गरेको उक्त कम्पनीले चालू आवमा बढेर रू. १ अर्ब १७ करोड बीमा शुल्क आर्जन गरेको छ ।
चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १४ दशमलव ४५, मूल्य आम्दानी अनुपात ५२ दशमलव ६८ गुणा र प्रतिशेयर नेटवर्थ रू.१८७ दशमलव ७१ रहेको छ ।