ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सुनसान बन्यो उपत्यकाका सडक : बुधवारसम्म ५ लाख ५० हजार बढीले छाडे काठमाडौं

२०७९ बैशाख, २९  
समाचार
Image Not Found

वैशाख २९, काठमाडौं । शुक्रवार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको तीव्र प्रतिक्षामा छन् ।  

स्थानीय सरकारको रुपमा चिनिएको ‘स्थानीय तह’को हरेक पाँच वर्षमा आउने निर्वाचनमा मताधिकारको सदुपयोग गर्न मतदाता आफ्नो नामावली भएको स्थानमा केन्द्रिकृत भएका छन् । 

काठमडौं उपत्यकालगायत मुलुकका मुख्य सहरबाट मतदाताहरु आफ्नो स्थानमा केन्द्रित भइरहेका छन् । काम विशेषले गाउँ छाडेका धेरै मतदाता गाउँ फर्किसकेका छन् भने यसअघि जान नपाएका मतदाताहरुको फर्किने लर्को बिहीवार पनि उपत्यकाका नाकाहरुमा सजिलै देखिएको छ ।

बुधवारमात्रै ८३ हजार नागरिकले काठमाडौंबाट उपत्यका छाडिसकेका प्रहरीले जानकारी दिएको छ । यही २१ देखि २८ गतेसम्म ५ लाख ५० हजार बढी यात्रुले उपत्यका छाडेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह रानाले जानकारी दिए ।

उनका अनुसार बिहीवार भित्रिनेको तुलनामा बाहिरिनेको संख्या झन् धेरैछ । यो क्रम नेपालका धेरैजसो ठूला सहरमा देखिन्छ । यसपालिको निर्वाचनमा मतदातामा छुट्टै उत्साह देखिएको छ भने मुलुक नै निर्वाचनमय बन्न पुगेको छ । मुलुकभर एकैपटक निार्वाचन हुन लागेकाले पनि वातावरण थप उत्साहित छ ।

पछिल्लो समयमा अधिकांश मतदाता राजनीतिक दलले व्यवस्था गरेको यातायातका साधनबाट गाउँ फर्किएका छन् भने कतिपय भाडाका सवारीसाधन र निजी गाडीमासमेत गइरहेका देखिएका छन् । मत हाल्ने दिन सरकारले सार्वजनिक बिदा दिएको, अर्को दिन शनिवार परेको र जेठदेखि हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयअनुसार आइतबार र सोमबारसमेत बिदा परेकाले पनि नागरिकहरु केही दिनको छुट्टी लिएरै गाउँ फर्किएका छन् । 

बिहीवार राति १२ बजदेखि सवारीसाधन सञ्चालन गर्न नपाउने भएकाले पनि यसअघि जान नपाएका मतदाता आज साँझसम्म फर्किने तरखरमा रहेका छन् । यसपाली निर्वाचनमा एक करोड, ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् । आजसम्म १८ वर्ष पूरा भएका नागरिकले मतदान गर्न पाउने छन् ।

मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा कुल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ । सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ । 

मंगलवार राति १२ बजेदेखि लागू हुनेगरी मौन अवधि शुरु भइसकेको छ भने अन्तरराष्ट्रिय सीमा नाकासमेत बन्द गरिएको छ । मुलुकभर प्रचारप्रसारसहित मतदाता प्रभावित पार्ने गतिविधिमा रोक लगाइए पनि सार्वजनिक समाचारमा उल्लेख भएअनुसार आचारसंहिता विपरितका गतिविधि छिटफुट रुपमा भइरहेको छ । 

आसन्न निर्वाचनका कारण काठमाडौं उपत्यकाका सडक सुनसान जस्तै भएको छ । उपत्यका भित्रिने सवारी प्राय छैन भने बाहिरिने सवारी साधनको चाप अझै देखिएको छ । मतदाताहरु काठमाडौँको कलङ्की, बालाजु, कोटेश्वर, बल्खु, गौशालालगायत विभिन्न नाकाबाट गाउँ फर्किने क्रम जारी रहेको छ । आज मात्रै सवारी चल्ने भएकाले पनि यसअघि जान नपाएका यात्रु आज राति अबेरसम्म भए पनि गाउँ फर्किने तयारीमा छन् । 

उपत्यकाभित्र पनि न्यून मात्रामा सवारीसाधन सञ्चालन छ । अघिपछि जाम हुने थापाथली, सिंहदरबार, त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, गौशाला, कलंकीलगायतका चोक प्रायः खुला जस्तै रहको छ । 

यातायातका साधन कुनै पनि चोकको जाममा पर्नुपर्ने अवस्था नरहेको सवारी चालकहरुले बताएका छन् । सडकमा ट्राफिक प्रहरी न्यून मात्रामा परिचालन भएका छन् । विभिन्न क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाईसमेत निर्वाचनमा परिचालन गरिएकाले सडकमा सुरक्षाकर्मीको उपस्थिति कम छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी आज बिहान नाकाबाट बाहिर जाने यात्रुको संख्या बढी देखिए पनि क्रमशः न्यूनीकरण हुँदै गएका र घर फर्किने क्रम भने रातिसम्मै चल्ने देखिएको बताए । उनका अनुसार हिजोअस्तिको तुलनामा उपत्यकामा सवारीका चाप न्यून रहेको छ । 

कार्यालयले दिएको विवरण अनुसार बिहीवार ९ हजार ९५६ सवारी साधनमार्फत ५९ हजार ८१ यात्रुले उपत्यका छाडेर गएका छन् । त्यसको अर्को दिन बुधवार बाहिरिने यात्रु ह्यात्तै बढेर ८३ हजार ६६० पुगेका छन् । उनीहरु ११ हजार २३३ गाडीमार्फत बाहिरिएका हुन् । यो तथ्यांक निजी सवारी र रिजर्वका सवारीसाधनबाट गएकाको गणना गरिएको छैन । 

त्यसरी जाने यात्रुको संख्या पनि ठूलो रहेको छ । आज पनि ठूलो मात्रामा मानिस बाहिरिएका प्रहरीले जानकारी दिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement