ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

चुनाव ? बालै भएन

२०७९ बैशाख, ३०  
तीतो मीठो
author avatar मदन लम्साल

हामी जति जति आधुनिककालतर्फ अघि बढ्दै जान्छौं, त्यति त्यति पुराना कुरा राम्रा ठान्छौं । ‘वल्ड इज गोल्ड’ अर्थात् पुराना सबै राम्रा, नयाँ चैं नराम्रा । बन्नुपर्ने आधुनिक, भन्नुपर्ने प्राचीन । त्यसैले त धेरैले भन्छन्– पुरानो युग राम्रो, पुराना सामान राम्रा । पुरानो शिक्षा, पुराना मूल्यमान्यता राम्रा । अझ पुरानो मान्छे राम्रा । पुरानो व्यवस्था राम्रो । हुँदा हुँदा पुराना नेता नै राम्रा । त्यसैले त सिन्को नभाँच्ने गफले चाहिँ आकाश–पाताल जोड्ने ३०औं वर्षदेखि पुरानै नेताको हाई हाई र हालीमुहाली छ । देशलाई नयाँ चाहिएको छ, नेता चाहिँ पुराना । मान्छे नयाँ, सोच पुरानै । हामी भन्छौं एक थोक र गर्छौं अर्कै थोक ।

मेरो रोजीरोटी चलेसम्म कुन दलले, कुन नेताले के के भने, के के गरे मलाई केको चासो ? बालेन भन्नुस् कि बाको लाइन लिनुस्, कि भाउजुको भागतिर लाग्नुस्, मलाई त बालै भएन ।  

के साँच्चै नयाँजति सबै नराम्रै हो त ? कुनै बेला म पनि नयाँ पिढीको थिएँ । त्यतिबेला पुरानो पुस्ता ठीक छैनन् जस्तो लाग्थ्यो । अब म पनि पुरानो पिढीमा उक्लँदै छु । तर म नयाँ पिढीलाई खराब देखिरहेको छु । समय समयको कुरा हो ।

अरू सबै खराब, म आफू मात्र ठीक ? यो आजको वा अहिलेको कुरा होइन । राम्रो ‘म’ भनेर पढ्न सिकाएको पनि उहिलेदेखि नै हो क्यार । अरू सबै बेठीक । आफू मात्र ठीक । हजारौं वर्षदेखि यै प्रवृत्ति चलिरहेको छ । जनता एकदम राम्रा । मानिसहरू एकदम असल । नेता सबै नालायक । जनता जमीनबाट उत्पत्ति भएका । नेताजति चैं आकाशबाट टप्किएका ।

आकाशबाट कहिले असल नेता बर्सिने हुन् थाहा छैन । हुन त केही असल नेता पनि छन् । तर यिनीहरू २–४ जना मात्र छन् । एकजनाले मेरो भतिजलाई जागीर लगाइद्याथे । अर्कोले मेरो किताब छाप्ने कुरामा सहयोग गर्‍याथे । अर्को एक नेताले त्यो किताबको विमोचन पनि गद्र्याथे । चौथोले एक ठाउँमा सस्तो प्लट जग्गा मिलाइद्याथे । पाँचौं मेरो नजिकको साथीको छिमेकी हुन् । भेट्दा के छ भनेर मसँग पनि बोल्छन्, नमस्कार फर्काउँछन् । अर्का नेता मेरा टाढाका नातेदार हुन् ।
अझ समाज भन्ने चीज पनि त छ । ‘एड्जस्ट’ त गर्नैपर्छ । आफ्नो धन्दा पनि चलाउनै पर्‍यो । दालभात पनि खानै पर्‍यो । अनि दालभातसँग जोडिएका नेतालगायत सबैलाई राम्रो भन्नै पर्‍यो । पात्र खराब भए पद्धति र प्रवृत्ति पनि खराब हुन्छ । तर हामी पात्र देखाएर पद्धति र पद्धति देखाएर पात्रलाई तुरुन्तै महामानव र महादानव बनाइदिहाल्छौं ।

भन्छन् नि समाज जस्तो हुन्छ, नेता पनि त्यस्तै हुन्छन् । जसले आफ्नो खाने बस्ने बन्दोबस्त मिलाएको हुन्छ, उसले आदर्शका कुरा गरिहिँड्छ । तर आफ्नो त आधा जीवन सिंगै बाँकी छ । आफ्नो ‘क्यारियर’ पनि सम्हाल्नु छ । कतिपय कुरा खोलेर कसरी भन्दै हिँड्न सकिन्छ र ? कसो ?

हेर्नुस्, म त एक पत्रकार हुँ । अझ एक व्यंग्यकार हुँ । व्यंग्य मेरो उत्पादन हो र तपाईं पाठक, श्रोता मेरा ग्राहक । मेरो ‘चिन्ता’ तपाईंलाई मनपर्ने व्यंग्य पस्किनु मात्र हो । बाँकी कुराको मलाई के मतलव, के चासो ? तपाईंले कसलाई भोट दिनुहुन्छ, कस्ता माछेलाई जिताउनुहुन्छ, मलाई के सरोकार ? अनि तपाईं पनि वर्ष दिनभरि नेतालाई सराप्नुहुन्छ अनि चुनावका दिन उसैलाई भोट हाली हाल्नुहुन्छ । तर, मेरो रोजीरोटी चलेसम्म कुन दलले, कुन नेताले के के भने, के के गरे मलाई केको चासो ? बालेन भन्नुस् कि बाको लाइन लिनुस्, कि भाउजुको भागतिर लाग्नुस्, मलाई त बालै भएन ।

कसले शहर बिगारे, कसले सजायो, कसले अर्थतन्त्र वा देशका लागि काम गर्‍यो, कसले गरेन भन्ने पनि मलाई थाहा भएन । चुनावका बेला मात्र खुट्टा ढोग्न आउनेलाई भाउ दिने, अनि वर्षभरि उसलाई कमाउने दाउ दिने, अनि गरेन, भएन पनि भनी हिँड्ने ? यो हाम्रो पनि तालै भएन ।

देशमाथि ऋणको भारी छ । तर बिदामाथि बिदा जारी छ । विकास सुस्त, बिदा चाहिँ कुस्त ? कामविनै माम पाक्छ र त आयल निगम भन्नुस् वा वायुसेवा निगम घाटामा छन्, कर्मचारी भने नाफै नाफामा ।

कसले भरतपुर वा धनगढीमा गएर के बोल्यो वा के बोलेन, त्यसको पनि अर्थ खोज्ने मेरो काम होइन । कसले मतदातालाई फकायो वा कसले धम्क्यायो, कसले मेयर, उपमेयरका उम्मेदवारलाई खसालेर बोल्यो वा कसले गधालाई छतमा चढायो यो पनि मेरो सरोकारको कुरो रहेन । ककसले जनताको स्वास्थ्य बर्बाद गरिरहेका छन्, ककसले देशमा न्याय बर्बाद गरिरहेका छन् । ककसले ज्ञान बर्बाद गरिरहेका छन्, ककसले सूचना बर्बाद गरिरहेका छन् । ककसले नैतिकता, धर्म, मूल्यमान्यतामा धावा बोलिरहेका छन् वा कसले कसले देशका अर्थव्यवस्था नै बर्बाद पारिरहेका छन्, यी सबै पनि मेरा विषयहरू होइनन् ।

देशमाथि ऋणको भारी छ । तर बिदामाथि बिदा जारी छ । विकास सुस्त, बिदा चाहिँ कुस्त ? कामविनै माम पाक्छ र त आयल निगम भन्नुस् वा वायुसेवा निगम घाटामा छन्, कर्मचारी भने नाफै नाफामा । कर्मचारी भर्ना लिने र थप बोनस बाँड्ने क्रम जारी छ । देशको सम्पत्ति भनेकै जसले सक्छ, उसले लिने रहेछ । त्यसैले सरकारले सकेजति जनताबाट लिएको छ, कर्मचारीले पनि सकेजति लिएकै छन् । सक्नुहुन्छ भने तपाईं पनि लिनुस् तर भोट जसलाई मन लाग्छ दिनुस् । तर मलाई भने बालै भएन क्या !

किनकि म त एक स्वतन्त्र जीव हुँ, परिवार, समाज र देशभन्दा माथि । संसारको केन्द्रबिन्दु पो हुँ म । म त गणतन्त्रवादी हुँ । म राजवादी पनि हुँ । म पूँजीवादी हुँ र साम्यवादी पनि हुँ । त्यसैले मलाई ठीक छ भने बाँकी कुराको चिन्ता मैले किन गरिरहने हो र ?

अँ साँची, स्थानीय चुनावको महामेला आजै हो क्यारे । तर मलाई त बालै भएन नि । कसलाई भोट हाल्ने, कसलाई नहाल्ने । कस्तालाई जिताउने, कस्तालाई हराउने जस्ता कुरा पनि मेरा चाखका कुरै रहेनन् । बरु तपाईंलाई चाहिँ चुनाव कति लागेको छ, कुन्नि ?

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement