तनहुँ । शुक्रवार हुने स्थानीय तहको निर्वाचन स्वच्छ, भयरहित र धाँधलीरहित बनाउन तनहुँमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको छ । जिल्लामा नेपाली सेनाको १० ओटा बेसक्याम्प खडा गरी ४१५ नेपाली सेना सुरक्षार्थ खटाइएको छ । जोखिम क्षेत्रलाई दृष्टिगत गर्दै सेनाले बेसक्याम्प बनाएर अवलोकन गरिरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । बेसक्याम्प स्थापना गरी नेपाली सेनाले वस्तुस्थिति बुझ्ने कार्य गरिरहेको छ । उनले भने, ‘मतदान केन्द्रमा कुनै घटना भएमा बढीमा ३० मिनेटमा नेपाली सेना घटनास्थलमा पुग्ने योजना बनाएका छौं ।’
मतदान केन्द्रमा बल प्रयोग गर्नुपर्ने अवस्था देखिएमा जिल्ला सुरक्षा समितिको निर्णयअनुरूप सेना परिचालन गरिनेछ । बेसक्याम्पबाट नजिक रहेका मतदान केन्द्रमा बढीमा १० मिनेटमै सेनाको टोली घटनास्थलमा पुगिसक्नेछ । उच्च जोखिम मानिएका क्षेत्र नजिक नेपाली सेनाले बेसक्याम्प स्थापना गरेको हो । रासस