ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कास्कीमा एक तिहाइ मतदानस्थल अतिसंवेदनशील

२०७९ बैशाख, ३०  
गण्डकी प्रदेश
NA

कास्की । कास्कीका एक तिहाइ मतदानस्थल अतिसंवेदनशील रहेका छन् । निर्वाचन सुरक्षा समितिको मापदण्ड अनुसार १५०  मतदानस्थलमध्ये ५० मतदानस्थल अतिसंवेदनशील पाइएका हुन् । समितिले १०० मतदानस्थललाई भने संवेदनशील र सामान्य मतदानस्थलका रूपमा वर्गीकरण गरेको छ ।
पोखरा महानगरपालिकाका मतदानस्थल सामान्य मतदानस्थलका रूपमा छन् । अन्य गाउँपालिकामा रहेका स्थल अतिसंवेदनशील र संवेदनशीलमा परेको समितिले जानकारी दिएको छ ।

समितिले बाटोको दूरी, भौगोलिक अवस्था, विगतको घटना, हालको सुरक्षा अवस्थालगायतलाई आधार मानेर उक्त वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए । ‘अति संवेदनशील मतदानस्थलका रूपमा रहेका मतदानस्थलमा पनि सुरक्षा चुनौती भने छैन,’ उनले भने, ‘कुनै पनि मतदानस्थलमा सुरक्षा थ्रेट नरहे पनि सम्भावित चुनौतीलाई ध्यानमा राखेर मजबूत सुरक्षा व्यवस्था मिलाइएको छ ।’

निर्वाचन बहिष्कार गरेका पार्टीदेखि निर्वाचनमा भाग लिएका, तर बल प्रयोग गर्न खोज्नेसम्मका समूहलाई पहिचान गरेर निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गरी निगरानी गरिएको प्रवक्ता तिवारीको भनाइ थियो । उनका अनुसार जिल्लामा मतदानस्थलको सुरक्षा घेरा तीन तहको बनाइएको छ । पहिलो घेरामा नेपाल प्रहरी हुनेछ । नेपाल प्रहरीलाई म्यादी प्रहरीले सघाउने बताइएको छ । त्यस्तै दोस्रो तथा बीचको घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिने गरी सुरक्षा व्यवस्था गरिएको छ ।

जिल्लाका १५० मतदानस्थलमा ३३६ ओटा मतदान केन्द्र छन् । पोखरा महानगरपालिकामा ९८ मतदानस्थल र २४२ मतदान केन्द्र, अन्नपूर्ण गाउँपालिकामा १५ मतदानस्थल र २६ मतदान केन्द्र, माछापुच्छ्रे गाउँपालिकामा १२ मतदानस्थल र २५ मतदान केन्द्र छन् । त्यस्तै मादीमा १७ मतदानस्थल र २५ केन्द्र तथा रूपा गाउँपालिकामा आठ मतदानस्थलमा १८ मतदान केन्द्र तोकिएका छन् । जिल्लामा मतदानपछि मतगणनाका लागि आवश्यक तयारी समेत गरिएको छ । गणनास्थलमा सीसीटीभी क्यामेरा र छेकबार लगाइएको छ ।

पोखरा महानगरपालिकाको मतगणनास्थल जिल्ला समन्वय समितिको हल र पोखरा उपत्यका नगर विकास समितिको हललाई तोकिएको छ । अन्नपूर्ण गाउँपालिकाको मतगणनास्थल कृषि अनुसन्धान केन्द्र लुम्ले तथा मादी, माछापुच्छ«े र रूपा गाउँपालिकाको मतगणनास्थल सम्बन्धित गाउँपालिकाको प्रशासकीय भवनलाई तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्लाका सबै मतदान केन्द्रमा मतदानस्थल निर्माणलगायत व्यवस्थापनका काम यसअघि नै सम्पन्न भइसकेका छन् । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement