ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

राजधानीमा कहाँ छ खुला स्थान ?

सार्वजनिक पार्क र खुला स्थान बहसको विषयमात्र

२०७९ बैशाख, ३०  
लेख | दृष्टिकोण
Image Not Found

अहिले संघीय राज्य प्रणालीअन्तर्गत दोस्रोपटक स्थानीय निकायहरूको आम चुनाव हुँदै छ । लोकतन्त्र, प्रजातन्त्रको दीगोपनका लागि यस्तो आवधिक निर्वाचन समयमै हुनु शुभ लक्षण पनि हो । दलीय राजनीतिमा कुनै दल विशेषले मात्र जित्नुपर्छ भन्ने मानसिकता राख्नु पक्कै पनि राम्रो मानिँदैन । कुन दल विशेष र उम्मेदवारलाई जिताउने भनेको मतदाताको कुरा हो । अहिले आममतदाता यसबारेमा धेरै चनाखा पनि भइसकेका छन् । यसै चुनावी रापका साथ विभिन्न दल र उम्मेदवार बनेका विभिन्न प्रत्याशीले राजधानीलाई यतिखेर स्वर्गै बनाउँछौं पनि भन्न थालेका छन् । सपना देखाउनेहरूका कहिल्यै विपना हुन नसकेका अनेकौं सपना पनि विगतमा हेरिएकै हुन् । त्यो जगजाहेरै छ । उदाहरणका लागि फोहोर मात्र थुप्रिरहने र त्यसको समस्या कहिल्यै समाधान हुन नसक्ने यो राजधानीलाई चुनावी मातको राप चढेका बेला स्वर्ग बनाउने कुरा एकातिर होला तर राजधानीभित्र कुनै दुई चारओटा स्वस्थ र सफापुग्घर देखिने सुलभ एवम् निःशुल्क शौचालय (अपांगमैत्री र महिलामैत्रीसमेत) मात्रको पनि व्यवस्था गरेर कुनै उम्मेदवारले देखाउन सके त्यो ठूलै उपलब्धि हुनेछ ।

अहिलेको सदर टुँडीखेल नहुँदो हो त राजधानीवासीका लागि सास फेर्न पनि सकस हुँदो हो । तै पहिलेका शासकहरूले बेलैमा बुद्धि पुर्‍याएछन् र सैनिक प्रयोजनै सही त्यसका कारण अहिले त्यति भए पनि राजधानीमा एउटा खुला स्थान पनि छ भन्ने उदाहरण दिन सजिलो परेको छ ।

अहिले कतिपयले राजधानी शहरलाई खुला, वातावरणमैत्री र सार्वजनिक बगैंचायुक्त बनाउँछौं भनेर चुनावी सपना बाँडेका देखिन्छन् । यो पक्कै पनि नराम्रो कुरा होइन । ठाउँठाउँ हरियाली र पार्कहरू, खेल मैदानलगायत बाल उद्यानहरूको उपस्थिति एवम् खेल्ने रमाउने र वयोवृद्धहरू टहल गर्ने स्थानहरू होस् वा युवा जोडीहरू एकछिन एकान्तमा प्रकृतिसित रमाउने स्थानहरूको उपलब्धता नै किन नहोस् ती अंगको उपस्थिति कुनै पनि शहरमा हुनुले शहरकै सौन्दर्यमा योगदान गरिरहेका हुन्छन् । राजधानीमा यस्तो हरियाली थपिए त्यसले यहाँको कार्बन उत्सर्जनलाई शोषण गरेर वातावरण नै सुन्दर बनाउने कामसमेत गरेको हुन्छ । तर, के ती सबै गर्न यहाँ पर्याप्त खुला स्थान बाँकी रहेको छ ?

कचौरा आकारको भूगोल भएको करीब ६ सय २० वर्ग किलोमीटर क्षेत्रफल भएको यो राजधानी शहर काठमाडौं उपत्यकामा भएका समथर भूभागमा सिमेन्टका जंगल उमारिएका छन् । अनियन्त्रित शहरीकरणका कारण राजधानीमा एकआने र अढाइआने घर निर्माणबाट अब योे खाल्डोको समथर भूभाग कतै बाँकी छैनन् । अहिले काठमाडौं उपत्यका वरिपरि हेर्ने हो भने पाखाभित्ताका वनजंगल पनि घडेरी हुन थालेका छन् । सम्भवतः अब वरिपरि बचेका निजी वनहरू पनि यस्तै घडेरीकरणका कारण उपत्यकामा खुला ठाउँ भनेको सिला खोज्नुपर्ने अवस्था आइसकेको छ । देख्न सकिन्छ, वरिपरि हालसम्म पनि सुरक्षितै रहेका हरियाली डाँडाकाँडाहरू पनि जग्गा प्लटिङले ताछिन थालेका छन् । अब त्यसरी नै बाँकी डाँडाहरू पनि ताछिने हो र त्यो क्रम रोकिएन भने आगत दिनमा राजधानीले अलिअलि भए पनि स्वच्छ वायु ग्रहण गर्ने अवसर सबै गुमाउला ।

सरकारैपिच्छे नीतिहरू फेरिने र एकले आरम्भ गरेको कुनै राम्रो नीतिलाई अर्को सरकार आउनेबित्तिकै खारेज गर्ने, फरक वैचारिकता भएका दलहरूले त एकअर्काको कार्यक्रमलाई नै नसहने मनोवृत्ति देखिनेजस्ता कारणले पनि राजधानी शहर सिमेन्टको जंगलमा परिणत हुन बल पुगेको हो । अब पनि राजधानीमै यसरी शहरीकरण र त्यो पनि अति भद्रगोल तरीकाले भइरहने हो भने संसारको सबैभन्दा अव्यवस्थित र प्रदूषित शहर पक्कै बन्नेछ । गतवर्षको चैततिर विश्वकै पहिलो नम्बरमा पुग्नेगरी काठमाडौं उपत्यकामा वायुप्रदूषण देखिएकै हो, जुन १ हप्तासम्मै रह्यो । पाठशालाहरू ४ दिनका लागि बन्द गरिएका थिए । त्यसबेला हप्ताभरि करीब ४ सय आईएक्यूभन्दा माथिकै वायुप्रदूषण रह्यो । हालको अव्यवस्थित शहरीकरणलाई व्यवस्थित गर्ने समय भने घर्किसकेको छ । कतै थोरै खुला स्थान भेटिए, देखिए वा नदीकिनारलाई समेत भूमाफियाका जालोले लालपुर्जा बनाउने क्रम नरोकिएको देखिएको हुँदा अब राजधानीभित्र कुनै उम्मेदवारले खुला स्थान बनाउँछु र त्यहाँ थरीथरीका सार्वजनिक उद्यानहरू बनाउँछु भन्नु कोरा सपना मात्र हो । बरु हिम्मत भए तिनले त्यस खाले सार्वजनिक जग्गाहरू पुनः सरकारका नाममा ल्याउने सपना चाहिँ देख्दा राम्रो हुन्छ ।

राजधानीको अस्तव्यस्त बसोवासको स्थिति र पर्यावरणीय असन्तुलन कुनै पनि नेतृत्वका लागि सदावहार चुनौती त हुँदै हो । यसको सामना गर्न कुनै एकल नेता वा दल वा कुनै एकल मन्त्रालयबाट मात्र सम्भव छैन । त्यसका लागि दीर्घकालीन रूपको नीतिगत र कार्यगत राष्ट्रिय एकबद्धताको खाँचो छ ।

अहिले यो खाल्डोभित्र कतै पनि खुला स्थान छैनन् । भएका पनि मासिएका छन् । खुला भनेको त्यही एउटा सदर टुँडीखेल, खुमलटारको सरकारी जग्गा, भक्तपुर सल्लाघारीनिरको नेपाल ट्रस्टको खाली चउर, जहाँ उखेलिएका ट्रली बसका पोलहरू छन्, मात्र देखिन्छन् । ती पनि विभिन्न विकासे बहानामा क्रमशः साँघुरिँदै गएका छन् । खोलानालाको त के कुरा ? ती अचेल घरमुनि पस्न थालेका छन् । हेर्दाहेर्दै यो उपत्यकाभित्र बग्ने फाँटिलो वाग्मती, धोबीखोला, टुकुचा, विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु, गोदावरीेहरू सबै नालामा परिणत भएका छन् । तिनको आयतन पहिले कस्तो थियो भन्ने कुरा २१ सालको नापी नक्शा पल्टाएर हेरे थाहा नहुने होइन । बेलैमा तिनका कोरिडरलाई साँघुरिन नदिन भने सबै सरकार चुकेकै हुन् । तिनका दुवै किनारलाई सडक बाटोले बेलैमा घेरेर दायाँबायाँ हरियालीकरण गर्ने काम धेरै पहिल्यै गर्न सकिन्थ्यो । उसो त चक्रपथमा कुनै समयको २५ मीटरको ग्रीनबेल्टको नीति अब ऐतिहासिक भइसक्यो । काठमाडौं भक्तपुरको सडक खण्ड (अरनिको राजमार्ग, ट्रली बसमार्ग) मा कुनै बेला दोहोरै लाइनमा रूखहरू थिए । ती सब कहाँ गए ?

साँच्चै भन्ने हो भने अहिलेको सदर टुँडीखेल नहुँदो हो त राजधानीवासीका लागि सास फेर्न पनि सकस हुँदो हो । तै पहिलेका शासकहरूले बेलैमा बुद्धि पुर्‍याएछन् र सैनिक प्रयोजनै सही त्यसका कारण अहिले त्यति भए पनि राजधानीमा एउटा खुला स्थान पनि छ भन्ने उदाहरण दिन सजिलो परेको छ । यतिखेर काठमाडौं खाल्डावासीका लागि सार्वजनिक खुला स्थानमा गएर केहीबेर सुस्ताउन पनि सकस मात्र होइन त्यस्तो कुनै स्थानै छैन भने पनि हुन्छ । एक त साँघुरा सडक, त्यसमाथि फुटपाथको अभाव, भएकामा पनि नांगले, डाले र कुम्ले व्यापारीहरूको कब्जाका कारण सडकमा कसरी खुला स्थानको आनन्द लिने ? शहरमा बाक्लिएको बस्ती र जनसंख्याको चापले गर्दा बसाइको सकस त यसै पनि हुँदै हो तथापि कुनै खुला र सार्वजनिक बगैंचा, चउर, पार्कको व्यवस्था भइदिएको भए पक्कै पनि बालबच्चा, ज्येष्ठ नागरिकलाई एकछिन आराम गर्न सहज हुन्थ्यो । अब त्यसका सपनाहरू अहिले चुनावी मातका बेला मात्र आउन थालेको छ । त्यो आउनु नराम्रो होइन तर ती कसरी कार्यान्वयन हुन्छन् कल्पना मात्र गर्न सकिन्छ । बनिसकेका आवासीय संरचनाहरू भत्काएर पार्क निर्माण गर्ने दुःस्साहस पक्कै पनि कसैले पनि नगर्ला । तर, त्यसरी आम नागरिकमाथि नै थप पीडा दिएर भन्दा अब बाँकी रहेका वा बचेका कुनै क्षेत्रमा खुलाक्षेत्रको अवधारणा ल्याउन भने धेरै ढिला भइसकेको छ । त्यसको चाहिँ प्रयत्न गर्ने हो कि ?

प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement