वैशाख ३०, काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ५ करोड ४४ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड ८० लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ९३ दशमलव ९० प्रतिशत बढी भएको हो । यस वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी गत वर्षभन्दा २९ दशमलव ३८ प्रतिशत बढी रू. ९ करोड ७५ लाख भएको छ भने सञ्चालन नाफा ८६ दशमलव ५७ प्रतिशत बढी रू. १२ करोड ४९ लाखभन्दा बढी छ ।
यस वर्ष २० प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढाएर रू. ७० करोड ६९ लाख ३२ हजार पुर्याएको कम्पनीले सोही पूँजीको आधारमा १५० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी गरेको छ ।
२०० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि वार्षिक साधारण सभाबाट प्रस्ताव पारित गरेको कम्पनीलाई विद्युत नियमन आयोगले १५० प्रतिशत मात्र निष्कासनको लागि पूर्व स्वीकृति दिएको हो ।
कम्पनीको रिटेन्ड अर्निङ गत वर्षभनदा ४८ दशमलव ४२ प्रतिशत बढेर रू. ६ करोड १७ लाख ८३ हजार पुगेको छ ।
वार्षिक प्रतिशेयर आम्दानी रू. १० दशमलव २७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव ७४ रहेको छ । कम्पनीको वार्षिक मूल्य आम्दानी अनुपात ५८ दशमलव २५ गुणा छ ।