ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

देश दुई दलीय प्रणालीमा गइसकेको ओलीको दाबी, नेपाली कांग्रेस वडामा पनि एक्लै लड्न सक्दैन 

२०७९ बैशाख, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३०, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश दुई दलीय प्रणालीमा गइसकेको बताएका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गतेसम्म पनि आफूलाई मतदान सार्न प्रस्ताव गरेको पनि दाबी गरेका छन् ।

शुक्रवार स्थानीय तह निर्वाचन २०७९ को अवसरमा भक्तपुरको सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ मतदान केन्द्रबाट भोट हाल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

मतदानपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले प्रधानमन्त्री देउवाले गत वैशाख ९ गतेसम्म पनि औपचारिक रुपमा वैशाख ३० बाट चुनाव सार्ने प्रस्ताव गरेको बताएका छन् । उनले आफ्नो अस्वीकारले सहमति नमिलेपछि चुनाव तोकिएकै समयभित्र भएको बताए ।

अध्यक्ष ओलीले देश मुलतः दुई दलीय प्रणालीतर्फ गएको भन्दै दुई दलीय प्रणालीमा एकातर्फ एमाले र अर्कोतर्फ काँग्रेसहितका दलहरु रहेको बताए । अध्यक्ष ओलीले नेपाली काँग्रेस पार्टी अब वडा तहमा समेत एक्लै लड्न नसक्ने स्थितिमा रहेको पनि दाबी गरे ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा जनताको सहभागीता उल्लेख्य र उत्साहजनक रहेको बताए । उनले केही स्थानमा लोकतन्त्रको मूल्य मान्यता विपरित गठबन्धनले आक्रमणका घटनाहरु गरिरहेको पनि बताए ।

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) तर्फ लक्षित गर्दै अहिले पनि केही स्थानमा २०६४ मा झैँ बुथ कब्जा गरेर जित्नका लागि विभिन्न आक्रामक गतिविधि गरिरहेको आरोप लगाए । उहाँले नेपाली काँग्रेस र नेकपा माओवादीले यस्ता अवाञ्छित गतिविधि गरिरहेको उनको भनाइ छ ।

स्थानीय तहको निर्वाचन आज देशभर एकसाथ भइरहेको छ । आम मतदातादेखि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले आफ्नो स्थानीय तहमा पुगेर मतदान गरिरहने क्रम चलिरहेको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement