वैशाख ३०, काठमाडौं।देशभरका सबै ७५३ पालिकामा शुक्रवार भएको स्थानीय तह निर्वाचनको मतदानको निर्धारित समय सकिएको छ।
निर्वाचन आयोगले शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो। तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले बताएको छ।
निर्वाचनमा हालसम्म करीब ५६ प्रतिशत मतदान भएको आयोगले बताएको छ। अन्तिम विवरण आउन बाँकी छ।
देशका केही स्थानमा झपड र विवाद भएपछि मतदान प्रक्रिया रोकिएको छ। केही स्थानमा पुनः सुचारु भइसकेको छ भने केही स्थानमा अर्को दिन मतदान गर्ने गरी स्थगित भएको छ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, नुवाकोट, काठमाडौं, काभ्रे, मकवानपुर, रौतहट, बारा, दाङ, कालिकोट, हुम्लालगायतका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ।