ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मुलुकभर धमाधम मतपेटिका संकलन हुँदै, सम्भव भएसम्मका स्थानमा आजै मतगणना    

२०७९ बैशाख, ३०  
समाचार
Image Not Found
काठमाडौं महानगरपालिकाको प्रदर्शनी मार्गस्थित वाल्मिकी क्यामसमा रहको मतदान केन्द्रमा मतदान सम्पन्न भएपछि मतपेटिका मतगणनास्थल लैजान सवारी साधनमा राख्दै प्रहरी र कर्मचारी। तस्वीर : रासस

वैशाख ३०, काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनमा मतदान सकिएका मुलुकका विभिन्न पालिकाका मतदानस्थलबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने कार्य जारी छ ।     
     
 ती क्षेत्रमा मतपेटिका संकलनपछि सर्वदलीय बैठक बसेर मतगणना गर्ने तयारी छ । निर्वाचन आयोगले आजै मतगणना शुरु गर्न स्पष्ट निर्देशन दिइसकेकाले पनि प्रक्रिया पुगेका स्थानमा आजै मतगणना गरिने सम्बद्ध क्षेत्रका अधिकारीहरुले बताएका छन् ।     
     
 निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पनि मतदान सम्पन्न भई सुरक्षितरूपमा मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भएपछि सहरी क्षेत्रमा आजै रातिदेखि मतगणना कार्य शुरु हुने जानकारी दिएका छन्।

 

आयोगका अनुसार करीब ६४ प्रतिशत मत खसेको अनुमान गरिएको छ । यो अपेक्षाभन्दा कम हो तर कतिपय क्षेत्रमा अहिले पनि मतदान जारी रहेको र कतिपय क्षेत्र दुर्गम भएकाले आजै मतगणना शुरु हुने सम्भावना क्षीण छ ।     
     
 शान्तिपूर्ण रूपमा मतदान सकिएको काठमाडौं उपत्यकाका विभिन्न पालिकाका मतदानस्थलबाट पनि धमाधम मतपेटिका सङ्कलन भइरहेको छ । काठमाडौ)का प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले काठमाडौंमा सम्भव भएका ठाउँमा आजै मतगणना शुरु गरिने तयारी रहेको जानकारी दिएका छन् ।

उनका अनुसार मतपेटिका संकलन कार्य जारी छ । निर्वाचन आयोगले शुक्रवार भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको बताएको छ । विभिन्न जिल्लामा झडपका घटना भएका देखिएको थियो ।     
     
 आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदानस्थलमा विवादका कारण मतदान कार्य रोकिएको छ । त्यस्ता क्षेत्रमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुनः मतदान गराउने निर्णय मुख्य निर्वाचन अधिकृतले गर्न सक्नेछन् । सोही अनुसार कतिपय जिल्लामा मतदानको अर्को मितिसमेत तय भइरहेको छ ।     
     
 शुक्रवार मतदानको दिन केही छिटफुट घटना भए । मतदाताले मतपेटिका नै लिएर भागेका दृश्य देखियो भने दलका कार्यकर्ताबीच झडप पनि भयो । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले ३० भन्दा बढी जिल्लामा ११० ओटा घटना भएको जानकारी दिए।     
     
 कुल ११ ओटा जिल्लाका केही मतदानस्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको र केही ठाउँमा अश्रुग्यास नै प्रहार गर्नुपरेको थियो । प्रहरीलाई प्राप्त विवरणबारे जानकारी दिंदै केसीले ३४ ओटा स्थानमा मतदान स्थगित भएको बताए।     
     
 महानगरमध्ये सबैको चासोको विषय बनेको चितवनको भरतपुरमा राति १२ बजेपछि मतगणना शुरु गर्ने तयारी गरिएको सहायक प्रजिअ चिरञ्जीवी शर्माले जानकारी दिए । उनले केही पालिकाले भोलि गर्ने कुरा गरेको पनि बताए।     
     
 मतपेटिका आउने क्रम जारी छ, रुटमा परेका सबै मतदानस्थलबाट मतपेटिका सङ्कलन भइरहेकाले मतपेटिका संकलनमा केही समय लाग्ने देखिएको उनले बताए । उनले चितवनमा ६८ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको बताए।     
     
 एकैपटक देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा शुत्रवार मतदान भएको हो । यसपटक ७५३ ओटा स्थानीय तहमा कुल ३५ हजार २२१ निर्वाचित हुनेछन् । स्थानीय तह सदस्य निर्वाचनमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए ।     
     
 यसपटकको निर्वाचनमा इतिहासमै पहिलो पटक बिहीवारसम्म १८ वर्ष उमेर पूरा भएका बालिग मतदाताले मतदानको अवसर पाएका थिए । यसपालि ६५ ओटा दल निर्वाचनमा सहभागी छन् । रासस

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement