ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

फलफूल र तरकारीको माग घट्यो

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found

काठमाडौं (अस) । स्थानीय तह निर्वाचनका कारण कालीमाटी फलफूल तथा तरकारी बजारमा ताजा तरकारी र फलफूलको माग घटेको छ । मागमा कमी आएपछि मूल्य पनि ओरालो लागेको छ ।

काठमाडौं उपत्यकामा बस्ने मानिसको ठूलो अंश मतदान गर्न आफ्नै गाउँठाउँमा गएकाले फलफूल र तरकारीको माग घटेको हो ।

दैनिक ८ सयदेखि ९ सय मेट्रिक टन तरकारी र फलफूल भित्रिने कालीमाटी बजारमा ४ दिनयता ती वस्तुको आयात २ सयदेखि ३ सय मेट्रिक टनसम्मले घटेको पाइएको छ । गत सोमवारदेखि नै कालीमाटीमा तरकारी आयात घटेको तथ्यांक छ ।

सोमवारदेखि बुधवारसम्म तरकारी र फलफूल गरी दैनिक ६ सय मेट्रिक टन आउने गरेको बजारमा बिहीवार दिउँसोसम्म करीब ३ सय टन मात्रै आयो । कर्मचारी बिदामा बसेका कारण शुक्रवारको तथ्यांक उपलब्ध छैन ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यले चुनावका कारण उपभोक्ताको संख्या घटेकाले तरकारी र फलफूलको मागमा पनि कमी आएको बताए । ‘उपत्यकाबाट धेरै मानिस बाहिरिएसँगै कालीमाटीबाहिर साना बजारमा माग घट्यो र त्यसको असर यहाँ पर्‍यो,’ आचार्यले भने । कालीमाटी बजारमा तरकारी व्यापार गर्दै आएका मीनबहादुर तामाङले यसअघि दैनिक २ देखि अढाइ लाखसम्मको कारोबार गर्ने गरेकोमा पछिल्ला दिनमा १ लाख ५० हजार रुपैयाँ हाराहारीमा झरेको बताए ।

माग घटेसँगै केही तरकारीको भाउ पनि ओरालो लागेको छ । १ साताअघि ६० रुपैयाँ किलो रहेको स्थानीय काउलीको थोक मूल्य अहिले ४५ रुपैयाँमा झरेको छ । ४० रुपैयाँ किलोको लोकल काँक्रोको मूल्य ३० मा झरेको छ । ५० रुपैयाँ किलो पर्ने भिन्डी ४० रुपैयाँमा पाइन थालेको छ । अन्य केही तरकारीको भाउ पनि घटेको छ ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement