ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

जग्गा खरीद गर्न आर्थिक सहयोग

२०७९ बैशाख, ३१  
गण्डकी प्रदेश
NA

बागलुङ । गलकोट नगरपालिकाको प्रशासकीय भवनको जग्गा जोहो गर्न स्थानीयवासीले झन्डै ७७ लाख रुपैयाँ सहयोग गरेका छन् । वडा नं ६ को विशेष पहलमा संकलित ७६ लाख ९८ हजार रुपैयाँ हालै नगरपालिकालाई हस्तान्तरण गरिएको वडाध्यक्ष एवं जग्गा व्यवस्थापन समितिका सदस्य नरबहादुर खत्रीले बताए ।

सोही वडामा पर्ने मजुवा फाँटमा नगरको प्रशासकीय भवन बन्दै छ । यसअघि ६ रोपनी जग्गा नगरपालिकाले किनेको थियो । एक रोपनी १२ आना जग्गादाताले नि:शुल्क दिएका थिए । यसबाहेकको जग्गा खरीदका लागि स्थानीयवासीबाट स्वैच्छिक रूपमा आर्थिक सहयोग जुटाउन अभियान नै चलाइएको हो ।

‘वडावासीदेखि देश विदेशमा रहेका शुभेच्छुक र सहयोगीबाट सो रकम जुटेको हो,’ खत्रीले भने । मजुवा फाँटमा प्रशासकीय भवन बनाउने निर्णय हुँदा वडाको तर्फबाट एक करोड जुटाउने प्रतिबद्धता आफूहरूले गरेको उनको भनाइ छ ।

आफ्नो ठाउँमा नगरको केन्द्र बन्ने भएपछि वडाले चलाएको अभियानमा स्थानीयवासी स्वत:स्फूर्त रूपमा जोडिएका छन् । एकै परिवारले १० लाखसम्म सहयोग गरेको वडाध्यक्ष खत्रीले बताए । उनले आफैले पनि चार आना जग्गा प्रदान गरेका छन् । यस्तै स्थानीय नन्दलाल गैरेले चार आना, खगराज गैरेले चार आना, इन्द्रमणि गैरेले चार आना, मेघराज रेग्मीले तीन आना, रामप्रसाद कँडेलले दुई आना, यमबहादुर थापाले दुई आना, नन्दकली बुढाथोकीले एक आना र रुद्रबहादुर खत्रीले डेढ आना जग्गा दिएका छन् ।

दुई वर्षदेखिको प्रयासपछि नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गाको जोहो भएको हो । हाल भाडाको घरबाट सञ्चालित नगरपालिका आउँदो २ वर्षभित्र आफ्नै भवनबाट चल्नेछ । भवनका लागि २७ करोडको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको नगर उपप्रमुख रेणुका काउचाको भनाइ छ । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement