ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पाल्पामा शान्त वातावरणमा मतदान

२०७९ बैशाख, ३१  
लुम्बिनी प्रदेश
NA

पाल्पा । पाल्पामा स्थानीय तहको निर्वाचन शान्त वातावरणमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि शुरू भएको निर्वाचनमा मतदाताले उत्साहित हुँदै मतदान गरेका छन् । पहिलो निर्वाचन २०७४ पश्चात् गाउँमै स्थानीय सरकारको अनुभूति गर्न पाएका मतदाता निर्वाचनमा सहभागी हुन पाउँदा उत्साहित भएका थिए ।

मतदानस्थलमा बिहान ५ बजेदेखि नै मतदाता पुगेका देखिन्थे । मतदानस्थल बाहिर लामबद्ध अवस्थामा रहेका मतदाता एक आपसमा आफूले रोजेको सक्षम उम्मेदवारलाई मतदान गर्ने विषयमा वार्तालाप गरिरहेका थिए ।   

रामपुरस्थित रामतुलसी माविको मतदानस्थलमा मतदान गर्न पुगेकी ७२ वर्षीया पूर्णकला पौडेलले आफ्नो गाउँ र ठाउँको विकास गर्ने उम्मेदवारलाई मतदान गरेको बताइन् । उनी बिहान ५:३० बजे नै मतदानस्थल पुगेकी थिइन् ।

‘स्थानीय सरकार जनताको सरकार भएकाले अन्य निर्वाचनभन्दा बेग्लै खालको रमाइलो अनुभूति भयो, आफूले चिने जानेका, छिमेकी उम्मेदवारलाई मतदान गर्न पाउँदा खुशी लागेको छ,’ उनले भनिन् ।

चर्को घाममा पाल्पाका मतदाता मतदान केन्द्रको बाहिर लाइनमा मतदानको व्यग्र प्रतीक्षामा थिए । रामपुर नगरपालिका अन्तर्गतका सबै मतदान केन्द्रमा शान्त र मर्यादित रूपमा मतदान भएको सहायक मतदान अधिकृत रामहरि पाण्डेयले बताए ।

पाँच वर्षअघि निर्वाचित स्थानीय सरकारलाई नागरिकले राम्रैसँग बुझेकाले यसपटक आफूले विकासशील उम्मेदवारलाई मतदान गरेको स्थानीय पूर्णकला पौडेलले बताइन् । ‘राम्रो उम्मेदवार चुन्ने अधिकार हामीलाई छ, निर्वाचनमा पार्टीगत होइन, समाजको विकासका लागि योग्य व्यक्ति आवश्यक छ, गाउँमा विकास भयो भने हामी जनताले सुविधा लिन पाउछौं,’ उनले भनिन् ।

स्थानीय सरकार जनताको नजिकको भएको र नागरिकले आफ्ना गुनासा सीधै जनप्रतिनिधिसमक्ष सुनाउन पाउने हुँदा गाउँको विकासमा तल्लीन, सक्षम, विकासशील, राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने उम्मेदवारलाई मतदान गरेको मतदाताले बताए । आधारभूत मावि मतदान केन्द्रमा मतदान गर्न पुगेकी सीता पोखरेलले जनताले सही व्यक्ति पहिचान गर्न सके मात्र देशको मुहार फेरिने बताइन् ।

स्थानीय निकायको निर्वाचन आफैमा महत्त्वपूर्ण उपलब्धि हो । त्यसमाथि गणतन्त्र स्थापनापछि नयाँ संरचनाअनुसारको स्थानीय तहको निर्वाचनको पहिलो समयावधि सकिएपछि दोस्रो समयावधिका लागि भएको निर्वाचनमा मतदाताले सक्षम र योग्य उम्मेदवार चयन गरेको अपेक्षा गरिएको छ । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement