ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बिपी प्रतिष्ठानमा १८ वर्षपछि डायलासिस मेशिन सञ्चालन

२०७९ बैशाख, ३१  
प्रदेश ०१
Image Not Found

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलासिस कक्ष सञ्चालनमा आएको छ । प्रतिष्ठानमा यसअघि रहेका ८ शय्याको कक्षलाई विस्तार गरी बिहीवारदेखि २० शय्याको डायलासिस कक्ष सञ्चालनमा ल्याइएको हो ।

अस्पतालमा हालै आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले उक्त कक्षको उद्घाटन गरे । उपकुलपति गिरीले २० शय्यासहितको डायलासिस युनिट सञ्चालनमा आएपश्चात् पूर्वी भेगका मिर्गौलाका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पूर्वी नेपालको सबैभन्दा ठूलो र उत्कृष्ट अस्पतालका रूपमा रहेको प्रतिष्ठानमा यसअघि डायलासिस गर्ने मेसिनको कमी हुँदा बिरामीले सास्ती बेहोर्दै आएका थिए । २० शय्यामा उपचार कक्ष सञ्चालनमा आएपछि बिरामीले सहज रूपमा सेवा पाउने अवस्था बनेको प्रतिष्ठानका प्रवक्ता चूणामणि पोखरेलको भनाइ छ ।

अहिले प्रतिष्ठानमा दैनिक करीब १२० बिरामीले नियमित डायलासिस गर्दै आएका छन् । यसअघि रहेका आठ मेशिनले प्रतिष्ठानमा आएका बिरामीलाई सेवा दिन नसक्दा करीब ५० जनाले डायलासिस सेवा लिन सकेका थिएनन् । प्रतिष्ठानमा डायलासिस सेवा शुरू भएको २३ वर्ष भइसकेको छ ।

सन् १९९९ मा तत्कालीन उपकुलपति डा. शेखर कोइरालाको कार्यकालमा प्रतिष्ठानमा डायलासिस सेवा शुरू भएको थियो । दुई शय्याबाट शुरू गरिएको उक्त सेवा अपुग भएपछि त्यसबेला मेडिसिन विभागका डा. सञ्जीवकुमार शर्माले सोही अस्पतालबाट आफैले घर बसेर गर्ने सीएपीडी प्रविधिको डायलासिस सेवाको शुरुआत गरेका थिए ।

सन् २००२ देखि प्रतिष्ठानमा शुरू भएको यो विधि ५ वर्षसम्म अरू कुनै अस्तालमा हुन सकेको थिएन । सन् २००४ मा डा. शर्माकै पहलमा बेलायतस्थित रोयल लण्डन अस्पतालबाट ११ थान डायलासिस मेशिन ल्याइएपछि अस्पतालको मेडिकल विभागअन्तर्गत डायलासिस युनिटको स्थापना गरिएको थियो । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement