वैशाख ३१, काठमाडौं । देशभरका ७७ मतदान केन्द्रमा झडप र विवादका कारण निर्वाचन स्थगित भएको छ ।
निर्वाचन आयोगले शुक्रवार राति प्रकाशित गरेको विवरण अनुसार ४३ ओटा मतदानस्थलमा निर्वाचन रोकिएको हो ।
निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी)का अनुसार १६ जिल्लाका २८ ओटा स्थानीय तहमा कुनै न कुनै रुपमा निर्वाचन प्रभावित भएको छ । लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा भने निर्वाचन स्थगित भएको छैन ।
केही मतदानस्थल (ठाउँ)मा एकभन्दा बढी मतदान केन्द्र बनाइएको हुन्छ । त्यसैले एक ठाउँमा झडप भएका कारण त्यस मतदानस्थलमा रहेका सबै केन्द्रमा मतदान स्थगित भएको हो ।
निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उक्त स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशन गरी पुनः मतदान गराउनेछन् ।’
हालसम्मको प्रारम्भिक विवरण अनुसार, ६४ प्रतिशत मतदान भएको भन्दै आयोगले विभिन्न ठाउँमा मतगणना शुरु भएको जानकारी दिएको छ । ‘मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका ढुवानी कार्य जारी रहेको’ विज्ञप्तिमा भनिएको छ, ‘मतपेटिका संकलन भइसकेपछि मतगणना शुरु गरिनेछ ।’