वैशाख ३१, काठमाडौं । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिएका छन् ।
हमालले ५५ मत प्राप्त गरी सुरुआती अग्रता लिंदा सत्ता साझेदार नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र एमालेका रणबहादुर चन्दले दुई मत प्राप्त गरेका छन् ।
वडा नं १ को अध्यक्षमा भने नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् । उपप्रमुखमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४० र नेकपा एमालेकी कन्दकला रानाथारुले १० मत पाएकी छिन् ।
मध्याह्नदेखि सुरु भएको मतगणनामा वडा नं १ को १०० मत गणना हुँदा २१ मत बदर भएको छ । उपमहानगरपालिका कार्यालय परिसरको नवनिर्मित भवनमा मतगणना कार्य भइरहेको छ ।
यसैगरी गोदावरी नगरपालिमा नेपाली कांग्रेस, बर्दगोरिया गाउँपालिकामा एमाले, घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकामा नेकपा एकीकृत समाजवादी, कैलारी गाउँपालिकाको प्रमुख/अध्यक्षमा राप्रपाका प्रत्यासी अगाडि छन् ।
टीकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकामा भने नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अगाडि छन् ।
टीकापुर घटनामा दोषी ठहर भएका रेशमलाल चौधरीकी पत्नीको नेतृत्वमा उक्त पार्टी केही महिनाअघि मात्रै गठन गरिएको थियो । रासस