ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कृषि उपज सूचना तथा उत्पादन रेकर्ड प्रणाली सञ्चालन

२०७९ जेठ, १  
वाग्मती प्रदेश
NA
author avatar अभियान संवाददाता

चितवन । चितवनमा कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनले कृषि उपजको उत्पादन तथा आपूर्ति खरीदमा संलग्न पक्षहरूबीच मूल्य, स्थान र समयको आधारमा सम्पर्क गराउने उद्देश्यले हालै यस्तो प्रणाली सञ्चालनमा ल्याएको हो ।

यस प्रणालीबाट किसानले आफ्नो उत्पादनको मूल्य प्रस्ताव गरी वेबसाइटमा राख्न सक्ने र किसानको उत्पादन हेरेर व्यापारीले खरीद गर्न सक्ने परियोजनाका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाले जानकारी दिए । ‘सूचना प्रणाली सञ्चालनमा आएसँगै हामी ‘चितवन मार्केट डट पीएमएमपी डटजीओभी डटएनपी’मार्फत कृषि उपजको विवरण दैनिक अद्यावधिक गर्छौं,’ उनले भने, ‘किसान र व्यापारीबीच सम्पर्क गराएर मूल्य निर्धारण गर्न सहयोग पुग्छ ।’

वेबसाइटमार्फत किसानले कृषि उपजको आपूर्तिको विवरण र व्यापारीले खरीदको विवरण राख्न सक्नेछन् । भरतपुर महानगर फलफूल तथा तरकारी बजारमा रहेका तरकारी र फलफूलको मूल्य कृषकले सहजै हेर्न मिल्ने व्यवस्था गरिएको परियोजनाका कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए । यसले गर्दा किसान ठगिनबाट बच्ने र उपभोक्ताले पनि कृषि उपजको प्रकृति र गुणस्तर अनुसार उचित मूल्यमा खरीद गर्न सक्ने उनले बताए ।

‘वेबसाइटको मूल्यसूची हेरेर किसान र व्यापारीले आफूलाई चाहिने कृषि उपजको मूल्य र परिमाण तोक्न सक्छन् । त्यहाँ सम्बन्धित व्यक्तिको फोन नम्बर समेत राखिएको हुन्छ,’ उनले भने ‘यसले किसान र व्यापारीको सम्पर्क भई सहजै कृषि उपजको विक्री हुनेछ ।’ वेबसाइटमा चितवन बाहिरका किसान र व्यापारीले समेत आफ्नो विवरण भर्न सक्ने व्यवस्था गरिएको छ ।

कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणालीको वेबसाइट निर्माणमा ड्रिमवर्क सोलुसनले प्राविधिक सहयोग गरिरहेको छ । किसानले उत्पादन गरेका वस्तु खेर फाल्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले २ वर्ष अघिदेखि वेबसाइटको विकास गरेर अघि बढेको कम्पनीका निर्देशक सन्तोष जोशीले जानकारी दिए । कम्पनीले नेपालमा कृषि उपजको बजारीकरणमा सहज पुर्‍याउने गरी काम गरेको उनले बताए । उत्पादन नियन्त्रण प्रणालीमा चितवनमा भरतपुर, खैरहनी, माडी र राप्ती पालिकाका किसान सहभागी भइसकेका छन् । छुटेका किसानलाई पनि समावेश गर्ने योजना रहेको उनले जानकारी दिए ।

वेबसाइटमा मूल्यसूची र खरीद तथा विक्रीकर्ताको सम्पर्क सूत्र उल्लेख गरिएको ड्रिमवर्क सोलुसनका कार्यक्रम संयोजक किरण बमले जानकारी दिए । कृषि प्रवर्द्धन बजार विकास प्रालिका अध्यक्ष शालिकग्राम घिमिरेले किसान र व्यवसायीलाई जोडिराख्न यसलाई नियमित सञ्चालन गर्न अनुरोध गरे  ।  उक्त प्रणालीले किसान र व्यवसायीलाई फाइदा पुग्ने तरकारी जोन सञ्चालन समितिका संयोजक हरि ढकालले बताए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement