ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अमाह सिमसारको पर्यटन प्रवर्द्धनमा कमी

२०७९ जेठ, १  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

धरान । धरानका सिमसार क्षेत्रको पर्यटकीय प्रवर्द्धन हुन सकेको छैन । प्रदेश १ सरकारको बेवास्ताले सिमसार क्षेत्रको पर्यटन प्रवर्द्धनका योजना कागजमै सीमित हुन पुगेका हुन् ।

यसको उदाहरण सुनसरीको अमाह सिमसार क्षेत्र रहेको छ । वराहक्षेत्र नगरपालिका–४ र ५ मा रहेको सिमसारको प्रवर्द्धनमा स्थानीय सरकारले समेत चासो नदिँदा आयआर्जन गुम्न थालेको स्थानीयको गुनासो छ ।

गाउँकै आयआर्जनमा टेवा पुर्‍याउँदै आएको सिमसारको संरक्षण र प्रवर्द्धनमा सरकारी पहल पर्याप्त नभएको सिमसार संरक्षण उपभोक्ता समितिका अध्यक्ष भोजराज घले बताउँछन् । ‘माथिल्ला निकायहरूबाट केही बजेट त आइरहेको छ,’ उनले भने, ‘तर स्थानीय सरकारले आफ्नो जिम्मेवारी अनुसार भूमिका निर्वाह नगर्दा संरक्षणमा समस्या देखिन थालेको छ ।’

सरकारले ‘एक स्थानीय तह : एक सिमसार क्षेत्र’ अवधारणा ल्याए पनि उपलब्धिमूलक काम गर्न नसकेको उनको आरोप छ । सिमसारको संरक्षण तथा प्रवर्द्धनका लागि २० लाख रुपैयाँ खर्चेर डीपीआर समेत तयार पारिएको उनले बताए । ‘सिमसार क्षेत्रको संरक्षण तथा प्रवर्द्धन गर्न डीपीआर तयार पारेका छौं,’ उनले भने, ‘यसलाई कार्यान्वयनमा लैजान हामीसँग पर्याप्त बजेट छैन ।’ सिमसारको आन्तरिक स्रोत बलियो नभएकाले सरोकारवालाको सहयोग आवश्यक परेको उनको भनाइ छ ।

विद्यार्थीले जैविक विविधता अध्ययन गर्न सक्नेगरी योजना तयार पारिएको घलेले बताए । उनका अनुसार सिमसार क्षेत्रमा ‘खुला चिडियाखाना’को अवधारणा समेत अघि सारिएको छ ।

स्थानीय स्तरमा पाइने (रैथाने)देखि अन्य स्थानमा पाइने माछाहरू ल्याएर एक्वारियममा राख्ने योजना रहेको उनले सुनाए । समितिले तयार पारेको डीपीआरमा जैविक विविधता संग्रहालय, बोटानिकल गार्डेन लगायत योजना रहेका छन् ।

समुदायले संरक्षण गरेको घना जंगल र मानव बस्तीको बीचमा अवस्थित अमाह पोखरी डेढ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने सिमसार क्षेत्र ५२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । पछिल्लो समय सिमसार क्षेत्र आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । विशेषगरी बिदाको समयमा मानिसहरू अमाह सिमसारमा वनभोज खान र रमाइलो गर्न पुग्ने गरेका छन् ।

पोखरीको बीचमा आइल्यान्ड (टापु) बनाइएको छ, जहाँ अमाह जलदेवीको मन्दिर छ । घुम्न आउने पर्यटकले त्यहाँ पूजा समेत गर्छन् ।

जलदेवीलाई कागजको घोडाफूल र पानको पातमा फूलपाती बेरेर चढाउने चलन छ । मन्दिरमा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने, दु:ख तथा रोगव्याधिले नसताउने जनविश्वास छ । अध्यक्ष घलेले भने, ‘सिमसार र पोखरी यो ठाउँको पहिचानका आधार बनेका छन् । यसबारे  सुनेर धेरै ठाउँबाट पर्यटक आउँछन्, रमाउँछन् । यसले गाउँको आर्थिक गतिविधि बढेको छ ।’

यता, वराहक्षेत्र नगरपालिकाकाले कोरोना कहरका कारण लगानी गर्न नसकेको बताइएको छ । यद्यपि वार्षिक रूपमा विभिन्न पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि बजेट विनियोजन गरिँदै आएको नगरपालिका स्रोतले बताएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement