ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तिलेश्वरनाथलाई पर्यटकीय क्षेत्र बनाउन संरचना निर्माण गरिँदै

२०७९ जेठ, १  
मधेश प्रदेश
Image Not Found

रौतहट (अस) । रौतहटको तिलेश्वरनाथ सामुदायिक वनलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले संरचना निर्माण थालिएको छ । नेपाल सरकार पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भौतिक संरचनाको निर्माण थालिएको हो ।

चन्द्रपुर नगरपालिका–३ मा रहेको तिलेश्वरनाथ सामुदायिक वन क्षेत्रमा तिलेश्वरनाथ पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजु धामीले बताए । उनका अनुसार करीब सात करोडको लागतमा सो स्थानमा नमूना पर्यटकीय स्थल बन्नेछ ।

वन विभाग र वन उपभोक्ता समूहको आर्थिक सहयोगमा बाल उद्यान निर्माणको काम भइरहेको छ । बालबालिकाका लागि बाल उद्यान, फूलबारी लगायत संरचना निर्माण गरिएका छन् । यसै आर्थिक वर्षभित्र सो पार्क तथा पर्यटकीय स्थलको काम सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष धामीको भनाइ छ ।

स्विमिङ पुल, तिलेश्वर मन्दिर, पिकनिक स्पट, बाटो, बगैंचा, फूलबारी, भ्यूटावर, नजिक रहेको चाँदी खोलामा झोलुङे पुलका साथै संग्रहालयको संरचना समेत निर्माण गरिने धामीले बताए ।

चिडियाखाना बनाउने योजना पनि रहेको उनले जानकारी दिए । घुम्न आउनेका लागि सुविधायुक्त खाजाघर, खानेपानी, बिजुलीबत्ती र सडक बनाइने उनको भनाइ छ । प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समितिले राखेको छ । समितिका कोषाध्यक्ष भुनेश्वर गुरोका अनुसार धार्मिक तथा पर्यटकीय दृष्टिकोणले सो क्षेत्र महत्त्वपूर्ण रहेको छ । अहिले निर्माणको क्रममा रहेकै बेला यहाँ घुम्न तथा वनभोजका लागि आउनेहरू बढेको उनले बताए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement