जेठ १, काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म अर्थात् नौ महीनामा रू.१६ करोड २० लाख नाफा कमाएको हो । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने १ दशमलव ४ प्रतिशतले वृद्धि भएको हो ।
गत आवमा कम्पनीले रू. १५ करोड ९८ लाख नाफा कमाएको थियो । चुक्तापूँजी रू.१ अर्ब १६ करोड रहेको उक्त कम्पनीले जगेडा कोषमा भने ३२ करोड ३१ लाख सञ्चित गरेको छ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको बीमा कोषमा रू.९० करोड ७४ लाख जम्मा भएको छ । यो बीमा कोष गत आवको तुलनामा १५ प्रतिशतले वृद्धि भएको हो ।
गत आवमा कम्पनीको बीमा कोषमा रू. ७८ करोड ८९ लाख थियो । त्यसैगरी गत आवमा कम्पनीको आम्दानी रू. २६ करोड ६७ लाख भएकोमा चालू आवमा बढेर रू. २७ करोड १ लाख पुगेको हो । त्यसैगरी कम्पनीले चालू आवमा कुल रू. १ अर्ब १० करोड बीमाशुल्क आर्जन गरेको छ ।
यो बीमाशुल्क गत आवको तुलनामा भने चार प्रतिशत घटेको हो । गत आवमा कम्पनीले रू. १ अर्ब १५ करोड बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी रू. १९(वार्षिक), मूल्य आम्दानी अनुपात ३५ गुणा,तरलता अनुपात २ दशमलव ८९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २१३ रहेको छ ।